Main News

काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात

हिमालय टिभी
२०७७ माघ २४ गते २०:५६
काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात

२४ माघ २०७७ काठमाडौं । काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो ।

तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातभर पनि ठाउँठाउँमा हिमपात र वर्षा हुनेछ । आइतबारबाट भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

अहिले वाग्मती र प्रदेश नं १ मा सामान्य बदली छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली छ । वाग्मती र गण्डकीको केही क्षेत्रमा वर्षा पनि भइरहेको शाक्यले जानकारी दिनुभयो । अहिले सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका आसपास क्षेत्रमा पानी परिरहेको छ ।

त्यहाँका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । मुख्यगरी हिमाली क्षेत्रसँगै प्रदश १, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा हिमपात राती पनि जारी हुन्छ ।

अहिले मुलुकको पश्चिम क्षेत्रमा खुलेको र वाग्मती प्रदेशमा रातीबाटै खुल्दै जाने र विहान मौसम सफा हुने जनाइएको छ । आइतबार सीमित पहाडी भू–भागमा आंशिक मात्रै बदली रहने अनुमान गरिएको छ ।

आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात तथा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *