राजनीति

जनसभाबाट प्रम ओलीको प्रष्टिकरणः संघीयता र गणतन्त्र तलमाथि हुन्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २३ गते २०:३६
जनसभाबाट प्रम ओलीको प्रष्टिकरणः संघीयता र गणतन्त्र तलमाथि हुन्न (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहले काठमाडौंमा आज शक्तिप्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयता र गणतन्त्र विरोधी भनि आफुमाथि लागेको आरोपको प्रष्टिकरण दिनु भएको छ । धर्मका विषयमा भने उहाँले आज केही बोल्नुभएन ।

नेकपाकै प्रचण्ड नेपाल समूहले संघीयता र गणतन्त्रविरोधी भएकाले प्रतिगमनकारी कदम चालेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिरहेको छ । नारायणहिटी दरवार अगाडिको सडकमा आयोजित विशाल सभामा उभिएर प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिनुभयो । उहाँले संघीयता र गणतन्त्र लडेर ल्याएको भन्दै कसैले पनि तलमाथि गर्न नसक्ने समेत बताउनुभयो ।

नेकपाकै प्रचण्ड–नेपाल पक्ष र अन्य दलले प्रधानमन्त्रीमाथि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता समाप्त पार्न लागेको आरोप लगाइरहेका छन् । प्रधानमन्त्रीले संघीयता र गणतन्त्रबारे प्रष्टिकरण दिए पनि धर्मबारे भने केही बोल्नुभएन । संसद विघटनको बचाउ गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिने काम भइरहेको आरोप पनि लगाउनुभयो ।

काम गर्न नपाएपछि संसद् विघटन गरेको प्रधानमन्त्रीले दोहोर्‍याउनुभयो । आफ्नै दलले काम गर्न नदिएको पनि उहाँको दाबी छ । प्रधानमन्त्री ओलीले अब सबै प्रश्नको जवाफ ताजा जनादेशबाट खोज्नुपर्नेमा जोड दिनुभयो ।

प्रचण्ड नेपाल पक्षले गरेको बन्दको आलोचना गर्न पनि प्रधानमन्त्रीले धेरै समय खर्च गर्नुभयो । करिव १ घण्टा सम्वोधन गरेका प्रधानमन्त्रीले एकातिर आफ्नै दलले काम गर्न नदिएको र अर्कोतिर सरकारले विकासको लहर चलाइरहेको परस्पर विरोधि दाबी गर्नुभयो ।

सभाअघि काठमाडौंका विभिन्न स्थानबाट निकालिएका जुलुस नारायणहिटी अगाडीको सडकमा एकत्रित भएका थिए । संसद विघटनको विरोधमा नेकपाकै अर्को समूहले आन्दोलन चर्काइरहेका बेला काउन्टर दिन ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । जसलाइ उसले अहिलेसम्मकै ठूलो सभा भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्