Main News

पशुपतिमा सुनको छानो हाल्न राज्यकोषबाट ३० करोड ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २३ गते ६:२४
पशुपतिमा सुनको छानो हाल्न राज्यकोषबाट ३० करोड ! (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरमा रहेको शिवलिङ्गको जलहरी र छानोमा सुनको जलप लगाउने निर्णय गरेसँगै विभिन्न टिकाटिप्पणी शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य कोषबाट ३० करोड रकम दिने घोषणा गरेसँगै बहस तिब्र भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते अप्रत्याशित रुपमा पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभयो । कम्युनिष्ट प्रधानमन्त्री ओलीले मन्दिरमा पूजाआजा मात्रै गर्नुभएन सुनको जलहरी बनाउन सरकारका तर्फबाट ३० करोड दिने घोषणा पनि गर्नुभयो ।

कोरोना भाइरससँग जुध्दै गरेका जनतासँग भ्याक्सिन खरिदका लागि सहयोग माग्ने सरकार प्रमुखले पशुपति मन्दिरमा गएर करोडौं दान गरेको भन्दै आलोचना भइरहेको छ। तर मन्त्रीहरु प्रधानमन्त्रीको घोषणाको बचाउमा घुँडा धसेर लागेका छन ।

पशुपतिमा सुनको जलहरी लगाउने चर्चा अहिलेको होइन, २०७० सालतिरबाट यसको चर्चा चलेको थियो । तत्कालीन मूल भट्ट महावलेश्वरमले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसँग जलहरी फेर्ने प्रस्ताव गर्नुभएको थियो । पुरानो भएकाले जलहरी ठाउँठाउँमा फुटेको थियो।

शिवलिंगको स्नान गर्दा त्यसले भट्टहरुको हात काट्थ्यो। बारम्बार हात काट्न थालेपछि फेर्ने कुरा उठ्नु स्वाभाविक थियो। त्यसैले राष्ट्रपति पशुपति दर्शन गर्न जाँदा मूल भट्टसहित अरु भट्टले जलहरी परिवर्तन गर्नपर्ने कुरा उठाउँथे। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यस विषयमा चासो देखाउनु भएको थियो । जलहरी पुनर्निर्माण गर्नतिर लाग्नुभन्दा नयाँ नै बनाउने र सुनको राख्नुपर्छ भनेर कुरा उठिरहेको थियो । त्यसैले यो सामान्य हो भन्ने तत्कालीन सदस्य सचिव टण्डनको तर्क छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरी मात्रै हैन मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने गरी तयारी गरिरहेको छ । पशुपति क्षेत्र विकास कोष संस्कृति नै मास्न लागेको आरोप लागिरहँदा पदाधिकारी यसको खण्डन गरिरहेका छन् ।

सुनको जलपका लागि १ सय ४२ किलो सुन लाग्नेि प्रारम्भिक अनुमान छ । प्रधानमन्त्रीले राज्य कोषबाट ३० करोड दिने घोषणा नै गरिसक्नु भएको छ । तर धर्मनिरपेक्ष घोषणा भैसकेको देशमा यसरी एक धर्मका लागि मात्रै प्रधानमन्त्रीले राज्य कोषबाट पैसा दिने घोषणा गर्नु न्याय संगत नभएको संस्कृतिकर्मीको टिप्पणी छ ।

सरकारले नागरिकको मर्म र भावना तथा आफ्नो प्राथमिकता बुझ्न नसकेको आरोप लागिरहेकै छ । सरकारको व्यवहारले पनि त्यसलाई पुष्टि गरिरहेको छ । पशुपतिमा सुनको जलहरी पनि त्यसकै एउटा उदाहरण हो । हुँदाखाँदाको प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले पशुपतिको जलहरीलाई पनि आगामी निर्वाचनमा आफू विजयी हुने जालको रुपमा प्रयोग गर्न लागेको आरोप पनि छ ।

सुनको जलप लगाउने विषयमा विरोध मात्रै भएको छैन । यो काम प्राचीन स्मारिका संरक्षण ऐन २०१३ विपरीत हुने पनि देखिन्छ । यो ऐनको दाफा १२ को घ मा कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा ,त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजारदेखि एक लाखसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । सरकारले आफूले बनाएको नियम कानुन नै पालना नगर्नू गलत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *