राजनीति

संसद विघटनसँगै गाउँगाउँमा छ्यापछ्याप्ती नेता, एकअर्कालाई खुइल्याउनै व्यस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते १६:२८
संसद विघटनसँगै गाउँगाउँमा छ्यापछ्याप्ती नेता, एकअर्कालाई खुइल्याउनै व्यस्त (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ रोल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा अहिले दुई समूहमा विभाजित भएको छ । यी दुई समूह अहिले एकले अर्कोलाई हदैसम्मको गाली गर्ने र कार्यकर्ता कसरी आफ्नो पोल्टामा पार्न सकिन्छ भन्ने ध्याउन्नमा लागेका छन् । निर्वाचनपछि जिल्ला नबस्ने नेताहरु अहिले जिल्ला, जिल्लामा कार्यकर्ता रिझाउन व्यस्त भएका छन् ।

रोल्पा नगरपालिका वडा नम्वर ४ स्थित मेबाङमा स्थायी घर भइ दाङबाट निर्वाचित पूर्व सभामुख कृष्णबहादुर महरा दाङमा आउजाउ गरिरहनुहुन्थ्यो । उहाँ गृह जिल्ला रोल्पामा भने विरलै देखिनु हुन्थ्यो । चुनाव जितिसकेपछि पूर्व मन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती पनि कहिलेकाहीं हेलिकोप्टरबाट आउनुहुन्थ्यो ।

अनि जिल्लामा भएका कार्यक्रममा भ्याइनभ्याइ गर्दै साँझ काठमाडौं फर्कनु हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । महरा र पुन दम्पती अहिले कार्यकर्ता रिझाउन गाउँगाउँमा व्यस्त हुनुहुन्छ । प्रचण्ड–नेपाल समूहमा रहेका तीनै जना नेता अहिले गाउँगाउँ घुमेर ओली समूहमाथि हमला गर्न व्यस्त हुनुहुन्छ ।

यता ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी पनि पुल शिलान्यासको निहुँमा कार्यकर्ता रिझाउन रोल्पा आउनुभयो । मुख्यमन्त्री भएयता एक पटक मात्र रोल्पा आएका पोखरेल पछिल्लो समय भने अन्य मन्त्री लिएर रोल्पा धाइरहनु भएको छ । उहाँ पनि प्रचण्ड–नेपाल समूहको उछितो काढ्न व्यस्त हुनुभयो ।

नेकपाका दुवै समूहले अहिलेको अवस्था आउनुको कारण एकले अर्कोलाई देखाइरहेका छन् । कहिले ओली त कहिले प्रचण्ड समूहको भेला रोल्पामा हरेक दिनजसो हुने गरेका छन् । खास्सै जिल्लामा नदेखिने नेता दैनिकजसो आउन थालेपछि आम नागरिक पनि अहिले चकित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्