राति चक्रपथमा किन निस्किए सेनाका हतियारसहितका बख्तरबन्द गाडीका लस्कर ?

२० माघ २०७७ काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई गएराति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो ।
०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो । १९ माघकै दिन रोजेर किन यसरी सेनाले बख्तरबन्द गाडी सडकमा निकाल्यो ? यो संयोग हो कि सन्देश ? विश्लेषकहरूले प्रश्न गरेका छन् ।
जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन ।
प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेका बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् । जंगीअड्डाले भने विना जानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकारात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरेर अभ्यास गरिएको भनेको छ ।
सेनाले यस विषायमा आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन आग्रह गर्नु भएको छ ।
संसद् विघटनपछि चौतर्फी आलोचनामा परेका प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीले विपक्षीहरूलाई सन्देश दिन सेनाको दुरुपयोग गर्न लागेकोसमेत कतिपयको आशंका छ । रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीको कार्यालय सारिएपछि रक्षा मन्त्रालय प्रधानमन्त्रीकै मातहत छ ।
प्रतिक्रिया