Main News

सहिद धर्मभक्तलाई फाँसी दिएको ठाउँमा पुगेर ओलीको कदमको विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते २०:३७
सहिद धर्मभक्तलाई फाँसी दिएको ठाउँमा पुगेर ओलीको कदमको विरोध (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौंसहित देशैभर प्रदर्शन भइरहेको छ । यो प्रदर्शन गर्नेमा नागरिक अगुवा पनि छन् । बृहत नागरिक आन्दोलनको ब्यानरमा उनीहरुले गत महिनादेखि नै निरन्तर खबरदारी गरिरहेका छन् । त्यसै क्रममा आज उनीहरुले सहिद धर्मभक्त माथेमालाई फाँसी दिएको ठाउँ सिफलमा पुगेर सिर्जनात्मक ढंगले प्रदर्शन गरे ।

१ सय ४ वर्षे निरंकुश जहानियाँ राणा शासनको विरोध गर्दा शहादत प्राप्त गरेका धर्मभक्त माथेमाको शालिक छेउमा उभिएर कलाकार अशान्त शर्मा माथेमालाई फाँसी दिँदाको घटना सम्झँदै हुनुहुन्छ ।

जहाँनिया राणा शासनको विरुद्ध र नागरिक स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा माथेमा सहिद बन्नु भएको थियो । धर्मभक्त बनेका कलाकार शर्मा क्रुर राणा शासकले १९९७ सालमा धर्मभक्तलाई सिफलमा कसरी मारेका थिए भनेर जानकारी दिँदै हुनुहुन्छ ।

कलाकारले यसरी ९७ सालका सहिदलाई अहिले सम्झनुको खास कारण छ । शासक निरंकुश भयो भने के हुन्छ भनेर बुझाउन खोज्दैछन उनीहरु । सहिदको बलिदानले नेपालमा प्रजातन्त्र–लोकतन्त्र हुँदै गणतन्त्र आयो । तर अहिले संसद विघटन गरेर शासक निरंकुश बन्न खोजेको उनीहरुको गम्भीर आशंका छ । त्यसैले उनीहरु विरोधमा छन ।

त्यसैले कलाकार र साहित्यकार खबरदारी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई सामान्य भन्दै चुनाव घोषणा गर्नुभएको छ । तर कलाकार र नागरिक अगुवालाई यो कदम सामान्य लागेको छैन । किनकी प्रधानमन्त्री निरंकुश र तानाशाह बन्न खोजेकाले आन्दोलन आवश्यक छ भन्ने उनीहरुको ठम्याई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई उहाँको समूहबाहेक अरु सबैले गलत भन्दै आएका छन् । र, विरोधमा हरेक दिन जसो प्रदर्शन भैरहेका छन् । गणतन्त्रका लागि १४ वर्ष जेल बसेको दावी गर्ने प्रधानमन्त्रीका विषयमा यसरी प्रश्न उठ्नु गम्भीर कुरा हो, त्यसैले यस्ता गम्भीर आरोपको व्यवहारबाटै खण्डन गर्ने दायित्व प्रधानमन्त्रीकै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *