Main News

नेपालमा बर्डफ्लु् देखिएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव

हिमालय टिभी
२०७७ माघ १८ गते ८:५१
नेपालमा बर्डफ्लु् देखिएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव

१८ माघ २०७७ काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा उचित हुन्छ ।

बर्डफ्लुको संक्रमण भएमा निमोनिया र रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ ।

हिजो काठमाडौंको तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको थियो । बर्डफ्लु पुष्टि भएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरि सकेको पशुसेवा विभागले जनाएको छ ।

त्यो ठाउँका १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । पछिल्ला केही दिनमा भारतमा बर्डफ्लु संक्रमण बढ्दै गएको छ । त्यसैले सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *