Main News

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका १९ जना सम्मानित

हिमालय टिभी
२०७७ माघ १६ गते १७:५४
कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका १९ जना सम्मानित

१६ माघ २०७७ काठमाडौं । बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ ।

फाउन्डेसनले आज काठमाडौमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी,पत्रकार र संस्थागत गरी १९ जनालाई सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिएवापत न्यूज एजेन्सी नेपाललाई संस्थागत रुपमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार १ रुपैयाँ रहेको छ ।

त्यसैगरी पत्रकारहरु फातिमा बानु, वर्षा शाह र सागर बुढाथोकीलाई पत्रकारितातर्फ कोभिड १९ विशिष्ट पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डाक्टर सुवासप्रसाद आचार्यलाई १ लाख १ रुपैयाँसहित सम्मान गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर डेनप्रसाद आचार्यलाई जनही ६० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।

नर्सिङतर्फ वीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत भगवती बडाल र नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स श्रुती साहलाई सम्मान गरिएको छ । यस पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ ।

स्वास्थ्य सहयोगी कर्मचारीतर्फ भेरी अस्पतालकी सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रमेश काफ्लेलाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । आरएनए १६ स्वयंसेवी समूह भक्तपुरलाई भने ६० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।

संस्थागततर्फ पाटन अस्पताल, ललितपुर, सामुदायिक प्राकृतिक चिकित्सालय नवलपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीलाई बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथिहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबै व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो । फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनि शुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैको सम्मानको रुपमा बुझिदिन अनुरोध गर्नुभयो ।

कोभिडमा उच्च योगदान पुराएका व्यक्ति छनौटका लागि फाउन्डेसनले पत्रकारितातर्फ र स्वास्थ्य क्षेत्रतर्फका दुईवटा छुट्टा छुट्टै निर्णायक समिति गठन गरेको थियो । पत्रकारितातर्फ वरिष्ठ पत्रकारहरु युवराज घिमिरे, सुधीर शर्मा, टिकाराम यात्री र स्वास्थ्य क्षेत्रतर्फ डाक्टर भगवान कोइराला, डाक्टर लोचन कार्की, प्राध्यापक गोमादेवी निरौला र लक्ष्मी तामाङ निर्णायक समितिमा रहनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *