दल दर्ता प्रक्रिया शुरु गर्न निर्वाचन आयोगलाई ओली समूहको आग्रह

१६ माघ २०७७ काठमाडौं । प्रचण्ड–नेपाल समूहले भाग नलिएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले निर्वाचन आयोगलाई दल दर्ता प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
प्रचण्ड नेपाल समूहबिना भएको छलफलमा ओली समूहले प्रक्रिया अघि बढाउन भनेको हो । प्रचण्ड–नेपाल समूहले दुवै अध्यक्ष बाहिर रहेको भन्दै १८ गतेपछि मात्रै छलफल गराउन निर्वाचन आयोगलाई अग्रह गरेको छ।
निर्वाचन आयोग पुगेर प्रचण्ड नेपाल समूहले आयोगलाई पत्र बुझाएर छलफल पछि सार्न आग्रह गरेका हुन् ।
आयोगले ओली र प्रचण्ड नेपाल पक्षलाई आज छलफलका लागि बोलाएको थियो । नेकपा नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोग पुगेर माघ १८ गतेपछि मात्र छलफल गर्न माग गर्नुभएको छ ।
आयोगलाई बुझाएको पत्रमा दुवै अध्यक्षले आयोगसँग आफै छलफल गर्न चाहेको उल्लेख छ । हिजो पत्र पठाएर आयोगले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूहका अध्यक्ष वा अध्यक्षले तोकेका ५–५ जनालाई आज बिहान साढे ११ बजे छलफलका लागि बोलाएको थियो।
नेकपा ओली समूहले भने आयोगसगँको छलफलमा दल दर्ता प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने ओली समूहको मत छ ।
आयोगसँगको छलफलपछि नेता सुवासचन्द्र नेम्वाङले दल दर्ता अगाडि बढाउन आग्रह गरेको जानकारी दिनुभयो । नेता नेम्वाङले आयोगले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको बताउनुभयो ।
आयोगले आप्नो समूहलाई आधिकारिक मानिसकेको नेम्वाङको दावी छ । ओली पक्षबाट महासचिव विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, रमेश बडाल र बाबुराम दाहाल आयोग जानुभएको थियो । आयोगले दल दर्ता , नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको हो ।
प्रतिक्रिया