नोभाभ्याक्सको कोरोनाविरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी
१६ माघ २०७७ लण्डन । अमेरिकी कम्पनी नोभाभ्याक्सले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ ।
बेलायतमा गरिएको परीक्षणमा यो खोप ८९ दशमलब तीन प्रतिशत प्रभावकारी पुष्टि भएको बेलायती स्वास्थ्य अधिकारीले बताएका छन् ।
परीक्षणका क्रममा कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध पनि यो खोप प्रभावकारी देखिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो समाचार सुखद रहेको प्रतिक्रिया दिएका छन् ।
बेलायतले ६ करोड डोज बुकिङ गरिसकेको छ । अमेरिकी कम्पनी नोभाभ्याक्सलाई बेलायतले प्रयोगको अनुमति भने दिइसकेको छैन । बेलायतले मान्यता दिएपछि जुलाईपछि मात्र यो खोप लगाइने बताइएको छ ।
१८ देखि ८४ वर्षसम्मका १५ हजार व्यक्तिमा यो खोपको तेस्रो चरणको परीक्षण गरिएको थियो । जसमा २७ प्रतिशत व्यक्ति ६५ वर्षमाथिका थिए ।
दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा भने ६० प्रतिशत मात्र प्रभावकारी देखिएको थियो । अहिले बेलायतमा तीनवटा खोपलाई आकस्मिक प्रयोगको अनुमति दिइएको छ ।
अक्सफोर्ड र अष्ट्राजेनेकाले उत्पादन गरेको, फाइजर र बायोएनटेकले उत्पादन गरेको र मोडेर्नाले उत्पादन गरेका तीनवटा खोप बेलायती नागरिकलाई लगाइँदै आएको छ ।
प्रतिक्रिया