Main News

दिगो शान्ति, सुशासन, र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने छः राष्ट्रपति

हिमालय टिभी
२०७७ माघ १६ गते ६:३१
दिगो शान्ति, सुशासन, र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने छः राष्ट्रपति

१६ माघ २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।

सहिद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “सहिदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।”

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण अमर शहीदप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीराङ्गनाप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

सहिद दिवसले हामीहरुलाई सहिदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपतिले भन्नुभएको छ, “सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।”

देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने सहिदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन सहिद दिवसले सबैलाई हौसला दिने राष्ट्रपतिको सन्देशमा उल्लेख छ । हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *