Main News

कीर्तिमानी आरोहीको भव्य स्वागत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १३ गते २०:३३
कीर्तिमानी आरोहीको भव्य स्वागत (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानको माउन्ट केटु हिउँदमा आरोहण गरी कीर्तिमान कायम गरेको १० सदस्यीय नेपाली टोली आज स्वदेश फर्किएको छ । कीर्तिमानी आरोही स्वदेश फर्किँदा भव्य स्वागत गरिएको छ । टोलीलाई त्रिभुवन विमानस्थलबाट मोटरसाइकल र्‍यालीसहित बालुवाटारसम्म लगिएको थियो । यसरी भव्य स्वागत पाउँदा कीर्तिमानी आरोही पनि निकै खुशी देखिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला सहितको टोलीले जब उनीहरुलाई विमानस्थलभित्रबाट स्वागत गरेर बाहिर ल्यायो । तब बाजा गाजा र उत्साहका साथ भव्य स्वागत गरियो ।

उनीहरुले पनि हात हल्लाएर सबैलाई अभिवादन गरे । हिउँले खाएको गालामा पीडा त देखिन्थ्यो । तर त्यो भन्दा ठूलो खुशी देशको नाम राख्नुमा थियो । र, यो खुशी उनीहरुको हाँसो र उत्साहबाट प्रष्टै हुन्थ्यो ।

उनीहरु जति अघि बढ्थे त्यही जोड तोडका साथ स्वागत भयो । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्‍याली सहित तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा लगेर फेरि सम्मान गरियो । त्यसपछि बालुवाटारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नुभयो ।

म्याग्दीका निर्मल पूजा सहितका आरोहीको यो कीर्तिमानबाट देशको शिर उँचो भएको छ । र, फेरि पनि यो टोलीले नेपालको नाम थप उँचो बनाउने सरकारको विश्वास छ । तर यस्ता काममा जाँदा सरकारलाई जानकारी दिन र सहयोग लिन पनि प्रधानमन्त्रीले आरोहीहरुलाई सुझाव दिनुभयो ।

साभेज माउन्टेन अर्थात पलपलमा मारिन सक्ने खतरनाक हिमालको उपमा पाएको माउन्ट केटू हिउँदमा पहिलो आरोहण गरेर १० जना नेपालीले इतिहास रचेका हुन्। केटू यसअघि जाडो मौसममा कुनै पनि आरोहीले चढ्न सकेका थिएनन्। यो कामबाट देशको नाम राखेको र मिले असंभवलाइ पनि संम्भव बनाउन सकिन्छ भन्ने उनीहरुलाई लागेको छ ।

नेपाली टोलीमा निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा हुनुहुन्थ्ये । र, यो टोलीले स्थानीय समयअनुसार माघ ३ गते बेलुकी ५ः४५ बजे ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गर्नुभएको थियो । दश जना मध्ये निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *