विदेश

भारतको राजधानी दिल्लीमा विशाल ट्रयाक्टर जुलुस, एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ १३ गते १७:१६
भारतको राजधानी दिल्लीमा विशाल ट्रयाक्टर जुलुस, एक जनाको मृत्यु

१३ माघ २०७७ नयाँ दिल्ली । भारतमा आन्दोलनरत किसानले गणतन्त्र दिवसको अवसर पारेर राजधानी दिल्लीमा आज विशाल ट्रयाक्टर जुलुस निकालेका छन् । आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ ।

कृषि कानूनको विरोधमा आन्दोलनरत किसान हजारौं ट्रयाक्टरसहित दिल्ली प्रवेश गर्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो । विभिन्न सीमाबाट दिल्ली प्रवेश गर्न लागेका किसानमाथि प्रहरीले गोली समेत चलाएको छ । गोली लागेर एकजना किसानको मृत्यु भएको विविसले जनाएको छ ।

किसानलाई रोक्न प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यांस समेत प्रहार गरेको छ । प्रहरीको अवरोध तोडेर किसान दिल्लीको लालकिल्लामा पुगेका छन् । उनीहरुले लालकिल्लामा पहेलो झण्डासमेत फहराएका छन् ।

आजको जुलुसका लागि हिजैदेखि दिल्लीसँगको सीमामा भारतका विभिन्न राज्यबाट किसान ट्रयाक्टरसहित जम्मा भएका थिए । किसानका अनुसार आज ३ लाखभन्दा बढी ट्रयाक्टरले दिल्लीमा मार्च गरिरहेका छन् ।

भारतीय संचार माध्यमका अनुसार दिल्लीको सीमा क्षेत्र ट्रयाक्टरले भरिएको छ । विशेषगरी पंजाव, हरियाणा, उत्तर प्रदेश लगायतका राज्यबाट किसान ट्रयाक्टरसहित दिल्ली पुगेका छन् ।

भारतमा किसानले विगत दुई महिना भन्दा बढी समयदेखि कृषि कानून फिर्ताको माग सहित आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *