Main News

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीले लगाउने

हिमालय टिभी
२०७७ माघ १३ गते ७:२५
नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीले लगाउने

१३ माघ २०७७ काठमाडौं । कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा सागर राजभण्डारीले लगाउनु हुने भएको छ । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो ।

भोलि बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । निर्देशकका रूपमा रहेकाले राजभण्डारीले पहिलो र दोस्रोमा डा अनुप बाँस्तोलाले खोप लिने सूची तय भएको छ ।

स्वास्थ्य मन्त्रालय र टेकु अस्पताल प्रशासनबीच हिजो विभिन्न चरणमा छलफल भएको थियो । टेकु अस्पतालमा खोप केन्द्र पनि रहनेछ । निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नु भएको छ ।

गत वर्ष माघ ९ मा नेपालमा कोभिडको पहिलो केस देखिएको थियो । संक्रमित व्यक्ति ज्वरो र खोकीको समस्या लिएर उपचारका लागि टेकु अस्पताल पुगेका थिए । कोभिड पुष्टि भएपछि उनलाई त्यही राखेर उपचार गरिएको थियो । अहिलेसम्म

देशभर दुई लाख ६९ हजार सात सय ८९ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये दुई लाख ६४ हजार पाँच सय ३८ जना निको भएर घर फर्किसकेका छन् भने तीन हजार दुई सय ४० संक्रमित उपचाररत छन् । संक्रमणबाट अहिलेसम्म दुई हजार ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार टेकु अस्पतालमा खोपको शुभारम्भ भएसँगै सशस्त्र प्रहरी अस्पताल बलम्बुस्थित र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि १० बजेकै समयमा खोप दिन सुरु गरिनेछ ।

अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारतले अनुदानमा दिएको हो । सरकारले पहिलो चरणको खोप अभियानका लागि देशभरका ९५ अस्पतालमा खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *