दरबन्दी मिलान हुन नसक्दा दुर्गम क्षेत्रका विद्यालयमा शिक्षक अभाव (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ धनकुटा । दरबन्दी मिलान हुन नसक्दा दुर्गम क्षेत्रका विद्यालयमा शिक्षक अभाव हुने गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दरबन्दी मिलानको जिम्मा स्थानीय तहलाई दिएको एक वर्ष भइसकेको छ । तर धनकुटाका स्थानीय तहमा अहिलेसम्म दरबन्दी मिलान हुन सकेको छैन ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दरबन्दी मिलानको जिम्मा गत वर्षको माघ महिनामै स्थानीय तहलाई दिएको छ । तर एक वर्ष बितिसक्दा पनि दरबन्दी मिलानको काम हुन सकेको छैन ।
धनकुटाका सातै स्थानीय तहका प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी आवश्यक भन्दा बढी छ । त्यही प्रावि तहमा बढी भएको दरबन्दीलाई निमाविदेखि उच्चमावि तहसम्म मिलान गर्नुपर्ने अवस्था छ । आन्तरिक रुपमा प्रावि तहमा बढी भएको दरबन्दीलाई आफ्नै स्थानीय तहभित्र मिलान गरिसके पनि एक स्थानीय तहमा बढी भएका शिक्षक अन्य स्थानीय तहमा भने मिलान हुन सकेको छैन । जसले ग्रामीण क्षेत्रका विद्यालय शिक्षक अभाव हुँदा कक्षा सञ्चालनमै समस्या हुने गरेको छ ।
धनकुटाका साँगुरीगढी गाउँपालिकामा ८, शहिदभूमि गाउँपालिकामा ३७, महालक्ष्मी नगरपालिकामा २६, चौबीसे गाउँपालिकामा १५ र पाख्रिबास नगरपालिकामा १७ शिक्षक कम छन । धनकुटा नगरपालिका मा ६१ र छथरजोरपाटी गाउँपालिकामा ११ बढी शिक्षक छन् ।
धनकुटा र छथरजोरपाटीले बढी भएका शिक्षक शिक्षा समन्वय इकाइ धनकुटालाई जिम्मा लगाई त्यही शिक्षक धनकुटाका अन्य स्थानीय तहमा पठाउनु पर्ने हो । तर धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले अहिलेसम्म बढी शिक्षक शिक्षा समन्वय इकाइ धनकुटालाई जिम्मा लगाएको छैन । दरबन्दी समायोजन नभएसम्मलाई शिक्षा समन्वय इकाइ धनकुटाले नयाँ शिक्षक नियुक्तिको कार्य समेत रोकिदिएको छ ।
दरबन्दी समायोजन नभएसम्मलाई शिक्षा समन्वय इकाई धनकुटाले नयाँ शिक्षक नियुक्तिको कार्य समेत रोकिदिएको छ । जसले गर्दा लामोसमयदेखि ग्रामीण क्षेत्रका विद्यालयमा शिक्षक अभावले पठनपाठन समेत प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया