Main News

शुरु भयो शहीद सप्ताह

हिमालय टिभी
२०७७ माघ १० गते १३:१३
शुरु भयो शहीद सप्ताह

१० माघ २०७७ काठमाडौं । प्रजातन्त्रको पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ।

सप्ताहको आज पहिलो दिन शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिएको छ ।

यस्तै १३ गते बिहान सिफलमा रहेको धर्मभक्त माथेमालाई फाँसी दिइएको ठाउँ र १५ गते बिहान गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा गरिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ ।

लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो ।

२०१२ सालदेखि काठमाण्डौ नगरको संयोजकत्वमा शहीद सप्ताह अन्तर्गतका कार्यक्रम हुँदै आएका छन् । प्रजातन्त्रको माग गर्दा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *