मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावका लागि पेस भएपछि रणनीति बनाउन जुट्यो कांगेस

९ माघ २०७७ काठमाडौं । बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि पेस भए पछि नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको छ।
सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा आज बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल गर्नुभयो ।
केन्द्र र प्रदेशको राजनीति र परिस्थिति फरक भएको तर्क गरेका देउवाले जसले मुख्यमन्त्री दिन्छ नेकपाको त्यही समूहलाई सहयोग गरेर जान सकिने धारणा राख्नुभएको थियो ।
देउवाले पार्टीलाई फाइदा हुने गरी प्रदेश सभाबारे निर्णयमा पुग्नु पर्नेमा जोड दिएको कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीविरूद्ध देशैभर पार्टी आन्दोलनमा रहेकाले बागमतीमा मुख्यमन्त्री पौडेललाई सहयोग गर्न नहुने बताउनुभएको थियो ।
प्रदेशको विषयमा पार्टी केन्द्रले निर्णयले गर्ने कि प्रदेशलाई जिम्मा दिने भन्नेमा छलफल भए पनि टुङ्गोमा पुग्न बाँकी रहेको बाँनियाले बताउनुभयो । छलफलमा कांग्रेसका अन्य प्रदेश सांसद पनि सहभागी थिए ।
प्रदेश १ मा पनि मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाको प्रचण्ड(नेपाल समूहले अविश्वास प्रस्ताव राखेका छन्। यी दुबै प्रदेशमा नेकपाका दुबै समूहलाई बहुमतमा पुग्न कांग्रेसको मत चाहिन्छ ।
प्रतिक्रिया