Main News

भारतले १० लाख डोज खोप दिने, पहिलो प्राथमिकतामा को ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ७ गते २०:३५
भारतले १० लाख डोज खोप दिने, पहिलो प्राथमिकतामा को ? (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । खोपको पहिलो खेप भोलि नै आउने स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । स्वास्थमन्त्री हृदयेश त्रिपाठीले यो खोप प्राथमिकता आधारमा लगाउन थालिने बताउनुभएको छ ।

अहिले छिमेकी देश चीन र भारतसहित अमेरिका, रुस, बेलायत लगायतका धेरै देशले आफ्नो नागरिकलाई कोरोना विरुद्धको खोप दिइरहेका छन् । विकसित देशले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाइरहेको बेला नेपाल सरकारले पनि पहल गरिरहेको थियो । तर पनि नेपालमा खोप कहिले आउँछ भन्ने एकीन थिएन । तर अब भने भारतले अनुदानमा दिएको १० लाख डोज खोप आउने निश्चित भएको छ ।

सरकारले पहिलो चरणमा खोप लगाउनेको सूचि तयार पारिरहेको छ । सूच‍ी अनुसार कोरोना महामारीविरुद्ध अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सुरक्षाकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ ।

अक्सफोर्ड विश्व विद्यालय र एस्ट्राजेनेकाले विकास गरेको तथा भारतको सिरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप अनुदानमा आउन लागेको हो । भारत सरकारले कोरोना विरुद्धको लडाइँमा दिएको अनुदानलाई सरकारले ठूलो उपहार भनेको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारत गएर आग्रह गरेका कारण यति छिट्टै खोप नेपाल आउन लागेको भारतीय दूतावासको दाबी छ ।

भारतले पहिलो चरणमा भने भुटान र माल्दिभ्सलाई खोप पठाइसकेको छ । उसले दोश्रो चरणामा नेपालसँगै बंगलादेश, म्यानमार र सेचेलेशमा खोप उपलब्ध गराउने छ ।

यसपछि उसले श्रीलंका अफगानिस्तान र मरिससलाई पनि खोप दिने घोषणा गरेको छ । कोभिशिल्ड नेपालको लागि सुहाउँदोे, भण्डारण गर्न सहज खोप भनिए पनि यसले नेपालीमा कस्तो असर गर्छ त्यो भने हेर्न बाँकि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *