संसद विघटनविरुद्ध काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल समूहको मोटरसाइकल र्याली

७ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको नेकपाको प्रचण्ड नेपाल समूहले मोटर साइकल र्याली गरेको छ ।
काठमाडौंमा प्रचण्ड–नेपाल समूहका जनसंगठनहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै र्याली निकालेका हुन् । भृकुटीमण्डपबाट निकालेको र्याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको थियो ।
माघ ९ गते पर्सि उपत्यकामा विशाल जनप्रदर्शन गर्ने उद्घोष गरिसकेको यो समूहले त्यसअघि पनि सरकारमाथि दवाब बढाउन विभिन्न विरोधका कार्यक्रम गरिरहेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति बनाएको यो समूहले सरकारको यो कदमविरुद्ध जुनसुकै ढंगको आन्दोलन गर्ने बताउँदै आएको छ ।
माघ ४ गते एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्ड आफ्नो टाउको चिलाएको भन्दै माघ ९ गतेको आन्दोलनलाई आक्रामक बनाउने संकेत गर्नुभएको थियो ।
यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि दुई लाख मानिस सडकमा उतार्ने भन्दै काठमाडौं नै अस्तव्यस्त हुने गरी आन्दोलन गर्ने बताउनुभएको थियो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपश्चात विभाजित भएको नेकपा आधिकारिकताको लडाइँसँगै सरकारविरुद्ध पनि सडक संघर्षमा होमिएको छ ।
प्रतिक्रिया