Main News

निर्वाचन आयोगद्वारा दलका प्रतिनिधिहरुसँग छलफल

हिमालय टिभी
२०७७ माघ ४ गते १३:१६

४ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले वैशाखमा तोकिएको चुनावको विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दलहरुसँग आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल भइरहेको आयोगले जनाएको छ ।

आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।

केही दिनअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले संसद् विघटनको मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचनको काम रोक्न आयोगलाई आग्रह गरेको थियो । कोरोना संक्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *