प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशका सबै स्थानीय तहमा प्रदर्शन गर्दै
३ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ।
यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।
पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा आज हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्नु भएको छ । संसद् विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।
सभापति देउवाले विज्ञप्ति निकालेर संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कामविरुद्ध कांग्रेस एकमतका साथ उभिएको बताउनु भएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि पुनःस्थापनाको माग भने गरेको छैन।
उसले सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला कुर्ने रणनीति लिएको छ। अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने नत्र चुनावमा जाने कांग्रेसको तयारी छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटतर्फ धकेल्ने काम गरेको बताउनु भएको छ ।
प्रतिक्रिया