चालु शैक्षिकसत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी
२ माघ २०७७ काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी थालिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।
बोर्डका अध्यक्ष प्रध्यापक डा चन्द्रमणि पौडेलले शिक्षा मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको जानकारी प्राप्त भएको बताउनुभयो ।
यसअघि चैतमै शैक्षिक सत्रको अन्त्य हुँदै आएको थियो । तर कोरोना महामारीका कारण विद्यालय बन्द भएको र शैक्षिक गतिविधि प्रभावित हुँदा २०७८ जेठ अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघ दोस्रो सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष पौडेलका अनुसार उत्तरपुस्तिका रुजुको काम अन्तिम चरणमा पुगेकाले अबको १० दिनभित्र नतिजा सार्वजनिक गरिनेछ ।
बोर्डले गत पुस दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरे पनि अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।
प्रतिक्रिया