अरब सागरमा बनेको न्यून चापीय प्रभावका कारण चिसो बढ्ने
२ माघ २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बदली भइ चिसो बढ्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाले तीन दिने सूचना जारी गर्दै नेपालमा एकसाथ दुई स्थानका मौसमी प्रणालीमा प्रभाव परेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा दक्षिण–पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेको छ ।
जसका कारण दिनभर मौसम बदली गराउने भएकाले घाम नलाग्ने सम्भावना रहेको छ । मौसमविद् विभूति पोखरेलले मौसममा प्रभाव परेका कारण आज अधिकतम तापक्रम घट्न गई देशभर चिसो बढ्ने अनुमान गरिएको बताउनुभयो ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने देखिन्छ ।
गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
प्रतिक्रिया