Main News

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम आजबाट शुरु हुने

हिमालय टिभी
२०७७ माघ २ गते ९:२९
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम आजबाट शुरु हुने

२ माघ २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजबाट शुरु हुने भएको छ ।

आजदेखि काठमाडौँतर्फबाट काम शुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । यो सुरुङ मार्गको कुल लम्बाई २.७ किलोमिटर छ । जसमध्ये एक किलोमिटर चालू आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य छ ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ मार्ग निर्माणका लागि हिजो विशेष पूजाआजा गरिएको छ । धादिङतर्फको (सिस्नेखोलामा) सुरुङ खन्ने काम भने पुस ८ गतेदेखि नै सुरु भइसकेको छ ।

हाल धादिङतर्फ २३ मिटर सुरुङ तयार भइसकेको छ । सुरुङको काठमाडौंतर्फको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा पर्छ । निर्माण कम्पनीले २४ घण्टाकै तालिका बनाएर दुई ‘सिफ्ट’ मा काम गर्ने तयारी गरेको छ ।

आयोजनामा जापानी प्राविधिकसहित दैनिक झण्डै तीन सय कामदार खटिनेछन् । सुरुङको प्रत्येक ३ सय ७५ मिटरको दूरीमा ‘स्केप टनेल’ले मुख्य सुरुङमार्गलाई जोड्ने छ भने मुख्य सुरुङमार्ग र स्केप टनेलबीचको दूरी ३० मिटरको हुने शाक्यले जानकारी दिनुभयो ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *