चिसो स्याँठ र डम्म हुस्सुबीच तिलासक्रायत मनाइँदै

हिमालय टिभी
२०७७ माघ १ गते ११:५५
चिसो स्याँठ र डम्म हुस्सुबीच तिलासक्रायत मनाइँदै

१ माघ २०७७ महोत्तरी । लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल (मिथिलाका बासिन्दा) तिलासक्रायत पर्व मनाइँदैछ ।

पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ । माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा तिलासक्रायत र मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ ।

मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले मनाउने तिलासक्रायत पर्व विशेष परिकारका खानपानका लागि प्रसिद्ध छ । खासमा मिठ्ठा (सख्खर) को खुँदोमा मिलाएर बनाइने तिल, चिउरा, जुनेला (अन्नविशेष) र मुरी (विशेष प्रकारले बनाइएको चामलको भुजा) का लाइ (लड्डू) विशेष मानिन्छन् ।

यसैगरी बिहानै मकरस्नान गरेर तिलको झिक्रा बालेर आगो ताप्ने र पुरोहितको हातबाट तिल डढाएर घ्यू दलेर बनाइएको कालोटीका लगाएपछि धार्मिक विधि सम्पन्न हुन्छ । पर्वका दिन मासको दाल, अरुवा चामल र घ्यूको खिचडी खाने आम चलन छ । यसका साथै तरुल, सुठुनीलगायतका कन्दमूल उसिनेर खाने चलन पनि रहि आएको छ । । मगर र तराईका आदिवासी थारूले भने मासुका विभिन्न परिकार बनाएर कुटुम्बजनसहित रमाइलो गरेर खानपिन गर्ने पर्व परम्परा रहेको छ ।

जाडो बढेपछि धार्मिक महत्वका नदी र कुण्डमा स्नान (नुहाउन) जानेको सङ्ख्या स्वात्तै घटेको छ । चिउरा, जुनेलो र मुरीको लाई बनाइए पनि तिलको भने मनमाफिक बनाउन नसकिएको मिथिलानी (मिथिलाका नारी, गृहिणी) ले बताएका छन् । खासमा लाइ बनाउन तिल ओखलमा फलेर सुकाउन पर्ने र पछिल्ला चार दिनयता यसरी फलिएको तील लगातारको ओसले नसुकेपछि आवश्यक जति लाइ बनाउन नसकिएको मैथिल गृहिणीको भनाइ छ ।

सूर्य मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण शुरु हुने यस पर्व उल्लास र उमङ्गको हुने मैथिल बताउँछन् । जाडो मौसम भएको हुँदा आँत तताउन खाने परिकारमा मिठ्ठा, घ्यू र तिलको प्रयोगको परम्परा पुर्खाहरुले शुरु गरेको हुनपर्ने बर्दिवास–२ का मैथिल परम्पराका कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

मिथिलामा माघे सङ्क्रान्ति पर्वका खास परिकार लाइ जाडोभरि खाजाका रूपमा खाने गरिन्छ । घरमा पर्व मनाइएसँगै तिलासक्रायत पर्वको सनेस (कोशेली) छोरीचेली, मितमितिनी र इष्टजनकहाँ पु¥याउने परम्पराले सिङ्गो माघ महिनाभरि नै मिथिलामा लाइको मौसम रहने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *