Main News

नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ९ वटा कम्पनी इच्छुक

हिमालय टिभी
२०७७ पुष २९ गते ७:३४
नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ९ वटा कम्पनी इच्छुक

२९ पुस २०७७ काठमाडौं । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् ।

स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानूनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत परामर्श उपलब्ध गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको आह्वानमा ती कम्पनीको आवेदन परेको हो ।

प्राधिकरणका अनुसार आवेदन दिनेमा चीन, फ्रान्स, बेलायत, भारत, दुबई, सिङ्गापुर र जर्मनीका विभिन्न कम्पनी छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)ले अन्तरिक्षमा स्याटेलाइट राख्न सक्ने गरी नेपाललाई दुईवटा ‘अर्बिटल स्लट’ उपलब्ध गराएको छ ।

त्यही स्लटमध्ये उपयुक्त छनोट गर्ने, सहकार्यमा स्याटेलाइट सञ्चालन गर्न सक्ने, नेटवर्क क्षमता र स्याटेलाइट प्रविधिमा भएका पछिल्ला परिवर्तनको जानकारी राख्ने, स्याटेलाइट स्थापनाको खर्च तथा त्यसबाट भविष्यमा हुने आम्दानीको आँकलन गरेर प्राधिकरणलाई परामर्श उपलब्ध गराउनु पर्नेछ ।

आवेदन दिएकामध्ये तीन वा छवटाको सङ्क्षिप्त सूची बढीमा १५ दिनभित्र सार्वजनिक गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

सूचीमा परेका कम्पनीबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेर त्यसको मूल्याङ्कनपछि परामर्श लिने कम्पनी टुङ्गो लगाइनेछ। यसका लागि बढीमा दुई महिनासम्म लाग्न सक्ने प्राधिकरणको अनुमान छ ।

प्राधिकरणले यसअघि २०७३ सालमै नेपालको स्याटेलाइट राख्ने प्रक्रिया अगाडि बढाउँदै परामर्शका लागि सङ्क्षिप्त सूचीसमेत तयार गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *