राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको एकताको मापदण्ड तयार

हिमालय टिभी
२०७७ पुष २८ गते ७:२७
नेकपा प्रचण्ड–नेपाल समूहको एकताको मापदण्ड तयार

२८ पुस २०७७ काठमाडौं । राजनीतिक रूपमा विभाजित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले एकताको मापदण्ड तयार गरेको छ ।

पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साविक एमालेले नेतृत्व गरेको र साविक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई नै यथावत् राख्ने गरी मापदण्ड तय गरिएको हो ।

पुस १९ गते बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न गठन गरेको कार्यदलले मापदण्ड तयार पारेको हो।

प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरूमा नेतृत्व खाली भएपछि सो समूहले एकता प्रक्रियालाई पूरा गर्ने प्रक्रिया अघि बढाएको हो। ओली पक्षले प्रचण्ड–नेपाल समूहलाई हटाउने प्रक्रिया अघि बढाइसकेको छ।

साथै प्रचण्ड–नेपाल समूह छाडेर ओली समूहमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष तथा सचिवहरूको पदपूर्ति गरिने भएको छ।

उनीहरूले सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्वएमालेहरूको स्थानमा पूर्वएमालेलाई नै दिनेगरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए।

प्रचण्ड–नेपाल समूहले विभिन्न तहमा पदाधिकारी चयन गर्न १२ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदललाई एक हप्ताभित्र विधि र मापदण्ड तय गर्न समयसीमा दिइएको थियो।

ओली समूहले भने विधान संशोधन गरेर केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ बनाइसकेको छ। जिल्ला कमिटीहरूमा पनि तत्कालै अर्को समानान्तर कमिटी बनाएर पदपूर्ति गरिसकेको छ। तर प्रचण्ड–नेपाल समूहले भने विधि र मापदण्ड बनाएरै पदपूर्ति गर्ने जनाएको छ।

सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगले विवाद नटुङ्ग्याउँदासम्म तत्कालै महासचिव र उपाध्यक्षमा कसैलाई पनि चयन नगर्ने जनाएको छ। नेकपाका महासचिव विष्णु पौडेल हाल ओली समूहमा हुनुहुन्छ भने उपाध्यक्ष वामदेव गौतम एकता अभियानमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्