Main News

प्रचण्ड–नेपाल समूहको सर्वदलीय अन्तरक्रियामा कसले के भने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २२ गते १९:३८
प्रचण्ड–नेपाल समूहको सर्वदलीय अन्तरक्रियामा कसले के भने ? (भिडियोसहित)

२२ पुस, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले संसद विघटन विरुद्धको संघर्षमा संसद भित्र र बाहिरका पार्टीका सहयोग जुटाउने प्रयास थालेको छ ।

संसद भित्र र बाहिर रहेका दलहरुलाई एक ठाउँ भेला गरी अन्तक्र्रिया गरेर प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्धको आफ्नो संघर्षलाई बलियो बनाउने कोशिस गरेको हो । कार्यक्रममा सहभागी विभिन्न दलका नेताले संसद विघटन विरुद्ध एक भएर जानुपर्नेमा जोड दिएका छन ।

प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले व्यवस्था नै समाप्त गर्ने गरी ओली अघि बढेको गम्भीर आरोप लगाउनुभयो । त्यसविरुद्ध मिलेर संघर्ष गर्न सबैदललाई नेपालले आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री ओली तानाशाही तर्फ अघि बढेकोले रोक्नुपर्ने बताउनुभयो । ओलीका कारण व्यवस्था नै संकटमा परेको भट्टराईको पनि बुझाइ छ ।

नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले पनि प्रधानमन्त्री ओली अधिनायकवादी दिशामा अघि बढेको भन्दै ढिलो चाडो संयुक्त संघर्षमा जानुपर्ने बताउनुभयो ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद विघटनलाई प्रतिगामी कदम भन्दै सबै मिलेर परास्त गर्नु पर्ने बताउनुभयो ।

अहिलेको संसदीय व्यवस्थाकै विरोध गरिरहेको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पनि संसद विघटनको विरोध गर्दै मिलेर संघर्ष गर्नुपर्ने बताउनुभयो ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद विघटनलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।

संसद विघटनको विरोधमा रहेका दलहरुले संयुक्त संघर्षमा जोड दिए पनि सहकार्य गर्न सकेका छैनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *