सिन्धुपाल्चोकको लिदी र नाम्फा स्थानान्तरण गर्न विज्ञ समूहको सिफारिस
![सिन्धुपाल्चोकको लिदी र नाम्फा स्थानान्तरण गर्न विज्ञ समूहको सिफारिस](https://www.himalayatv.com/wp-content/uploads/2020/08/sindhu-pahiro-himalaya.jpg)
२२ पुस २०७७ काठमाडौं । सिन्धुपाल्चोकको विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदी र सानो नाम्फाको बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ।
गत असार र साउनमा आएको पहिरोले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो।
टोलीले अध्ययन गरिएकामध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको जानकारी दिएको छ । टोलीले जुगलका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो।
बाढी पहिराले वर्षामा सिन्धुपाल्चोकमा ठूलो जनधन क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गत असारयता सिन्धुपाल्चोकका विपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए भने ३९ जना अझै बेपत्ता छन्।
प्रतिक्रिया