ओली समूहको बुटवल भेलामा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण (भिडियोसहित)
१९ पुस २०७७ बुटवल । बुटवलमा आज कार्यकर्ता भेला गरेर ओली पक्षका नेताले पनि प्रचण्ड नेपाल पक्षमाथि आक्रमण गरेका छन्।
महासचिव विष्णु पौडेल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, मुख्यमन्त्री शंकर पोखरेललगायतले प्रचण्डको महत्वकांक्षाका कारण पार्टी संकटमा परेको आरोप समेत लगाएका छन् ।
रुपन्देही जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलले प्रचण्डप्रति लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमाथि खडग प्रहार गरेको आरोप लगाउनुभयो ।
प्रचण्डले पार्टीभित्रका केही महत्वकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोजेकाले नै समस्या भएको दाबी गर्दै उहाँले नेताहरुमा पदको मोह देखिएको आरोप पनि लगाउनुभयो ।
भेलामा ओली पक्षीय नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले प्रधानमन्त्रीमाथि आँखा गाडेको आरोप लगाउनुभयो । हालै कित्ता परिवर्तन गरेर मन्त्री बन्नुभएका रायमाझीले प्रचण्ड–नेपाल पक्षले पहिलेदेखि नै पार्टी फुटाउन चाहेको तर आफुहरुले बचाएको दाबी पनि गर्नुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकर्ता र जनताको साथ नभएकाले प्रचण्ड–नेपाल पक्ष चुनावमा जान डराएको आरोप लगाउनुभयो ।
भेलामा बोल्ने अन्य नेताले पनि प्रचण्डनेपाल पक्षकै कारण पार्टी फुटेको बताएका थिए ।
प्रतिक्रिया