Main News

मोबाइल फोनका कारण यसरी पक्राउ परे किशोरी हत्या आरोपी युवक (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १९ गते १८:३४
मोबाइल फोनका कारण यसरी पक्राउ परे किशोरी हत्या आरोपी युवक (भिडियोसहित)

१९ पुस २०७७ कपिलवस्तु । कपिलवस्तुमा १६ वर्षकी किशोरी हत्यामा संलग्नलाई प्रहरीले एक हप्तामै पक्राउ गरेको छ । मोबाइल फोनको माध्यमबाट प्रहरी अभियुक्तसम्म पुगेको थियो । प्रहरीले एकसातामै हत्यारा समाउन सफलता पाएको छ । त्यसका लागि प्रहरीले धेरै मेहनत पनि गर्नुपर्‍यो ।

कपिलवस्तुको शिवराज नगरपालिका ३ करमादीकी १६ वर्षीया किशोरी अस्मिता भन्ने दीपा रोका मगर पुस ११ गते बेलुकीदेखि हराएकी थिइन् । दुई दिनपछि मात्रै परिवारले हराएको निवेदन वडा प्रहरी कार्यालय चन्द्रौटामा दियो । निवेदन दिएकै दिन दिउँसो दिपाको शव घर नजिकैको जवाई खोलामा भेटियो ।

छोरी हराएको दुई दिनसम्म पनि प्रहरीमा उजुरी नदिएको शंकाका आधारमा प्रहरीले परिवारमाथि नै शंकाको सुई घुमाएको थियो । तर अचानक प्रहरीले नयाँ क्लू पायो । दिपाको मोबाइल अन भयो । जुन दुई दिनदेखि अफ थियो । अफ भएको मोबाइल अन भएको र त्यसमा अर्कै सिम हालेको पत्तो पाएपछि प्रहरीले अनुसन्धान त्यसतर्फ मोडियो ।

प्रहरीले दीपाको मोबाइलसँगै शिवराज नगरपालिका वडा नम्बर ४ बनकट्टीका २० वर्षीय अल्ताफ मुस्लिम बढईलाई पक्राउ गर्‍यो । बढईले माछा मार्न खोलामा जाँदा दिपासँग भेटेको र हत्या गरेको स्वीकारे । दीपालाई बलात्कार गर्न खोजेको र त्यसैक्रममा हत्या गरेको बढईले स्वीकारेका प्रहरीको दावी छ ।

सरकारले बलात्कारीलाई कारबाही गर्न कडा कानून ल्याइसकेको छ । तर पनि बलात्कार घटेको छैन । बलात्कारकै प्रयासको प्रतिरोध गर्दा एक किशोरीले ज्यान गुमाएकी छन् । त्यसैले परिवार आक्रोशित छ ।

आक्रोशसँगै अभियुक्त पक्राउ परेपछि दोषीलाई कारबाही हुन्छ भन्ने आशा परिवारमा जागेको छ । यो घटनामा अरु पनि संलग्न हुन सक्ने परिवारको आशंका छ र उनीहरुले थप अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *