Main News

मिटर ब्याजमा ठगीः ५ लाखको ऋण २५ लाख तिर्दा पनि ५० लाख बाँकी ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १९ गते ६:१६
मिटर ब्याजमा ठगीः ५ लाखको ऋण २५ लाख तिर्दा पनि ५० लाख बाँकी ! (भिडियोसहित)

१९ पुस २०७७ विराटनगर । कानूनले अवैध ठहर गरेको मिटर ब्याजीको धन्दा वर्षौंदेखि विराटनगरमा हुने गरेको खुलेको छ । यतिसम्मकी मिटरब्याजमा सर्वसाधारणले लिएको पैसाको सावा र ब्याज तिर्दा पनि धितोको सम्पत्ति साहुले फिर्ता नगर्दा ऋणी घर न घाटका भएका छन् । चर्को मिटर ब्याजमा ऋण लगाउँदै सर्वसाधारणको उठीबास लगाउन कुख्यात मिटरब्याजीसँगै एजेण्टलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गरिरहेको छ ।

उहाँ हुनुहुन्छ, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर १ का युनुस हुसैन । छोरा मन्जरलाई विदेश पठाउन ११ कट्ठा जग्गा धितो राखेर उहाँले सात वर्षअघि साहुकार मन्टुसँग ६ लाख रुपैयाँ ऋण लिनु भएको थियो । ऋणको साँवा र ब्याज गरेर उहाँले अहिलेसम्म ११ लाख रुपैयाँ तिरिसक्नु भएको छ ।

तर पनि मन्टुले जग्गा फिर्ता गरेका छैनन् । मन्टुले साँवा–ब्याज गरेर अझै ६५ लाख तिर्न बाँकी रहेको बताउँदै आएका छन् । मन्टुले ६ लाख ऋण दिँदा ९ लाखको कागज बनाएका रहेछन् । त्यसैको आधारमा ऋण नतिरेको भन्दै मन्टुले युनुस हुसैनविरुद्ध अदालतमा लेनदेन मुद्दा हालेका छन् ।

युनुस जस्तै धनपालथान गाउँपालिका वडा नम्बर ७ कमलपुरका विनोदकुमारका बाबुआमा भूपेन्द्र सिंह र खगनी देवीले २०६९ सालमा नौ कट्ठा तीन धुर जग्गा दिएर साहुकारसँग ३ लाख रुपैयाँ ऋण लिनुभयो। तर, मन्टुले झुक्याएर आठ लाख ऋण लिएको कपाली तमसुक बनाएर १२ लाख रुपैयाँ असुलेका छन् । तर धितो फुकुवा भएन।

बरु, साहुकारले ऋणको साँवा–ब्याज गरेर ३५ लाख रुपैयाँ पुर्‍याएका छन्। ऋणकै तनावबीच २०७३ सालमा भूपेन्द्र र २०७६ सालमा खगनीको मृत्यु भइसक्यो। ३५ वर्षीय विनोद अहिले पनि निरन्तर मन्टुलाई ब्याज तिरिरहनु भएको छ । नतिरे धितो हडप्ने मात्रै होइन, मुद्दा लगाउने धम्की साहुकारले दिइरहेका छन्।

युनुस र विनोदको जस्तो अवस्था विराटनगर उपमहानगरपालिका वडा नम्बर १० कि संगीता कामतको पनि छ । घरायसी समस्यालाई टार्न साहुसँग ऋण लिएर पटक–पटक गरेर चुक्ता गरिसके पनि साहुकारले धितो फुकुवा गरिदिनुको साटो साँवा–ब्याज झन्झन् बढाइरहेका छन्। नतिरे मुद्दा हाल्ने धम्की दिइरहेका छन्।

अहिले विराटनगर र आसपासका साजिद मियाँ, फिरोज खातुन र हरिलाल गनगाईले पनि ऋणभन्दा तेब्बर–चौब्बर रकम साहुकार मन्टुलाई बुझाइ सक्नु भएको छ। तर, साहुकारले धितो फुकुवा गरिदिनुको साटो साँवा–ब्याज झन्झन् बढाइरहेका छन्। नतिरे मुद्दा हाल्ने धम्की दिइरहेका छन्।

लामो समयदेखि मिटर ब्याजीको धन्दा चलाउने विराटनगरका विराटनगर–९ घोघापुलका कुख्यात मिटरब्याजी ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार र एजेण्ट एजाज अहमद पक्राउ परेपछि विराटनगरमा फस्टाएको अवैध मिटरब्याजको धन्दामा संलग्न गिरोहको पहिचान भएको छ ।

प्रहरीले साहुकारविरुद्ध गहन अनुसन्धान गरी ठगी मुद्दा दर्ता गरेको छ । प्रहरीको अनुसन्धानबाट १० वर्षदेखि साहुकारले मिटर ब्याजमा रकम दिएर सर्वसाधारणबाट करोडौँ असुलिसकेको खुलेको छ।

विराटनगरस्थित रोडशेषचोकमा एजाजसहितको टिमले ऋणीले समयमा नै साबा ब्याज नदिए अपहरण शैलीमा आँखामा पट्टी बाँधेर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाउने लगायतका मानसिक यातना समेत दिने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले मिटर ब्याजीको कालो धन्दामा संलग्न मिन्टु र एजेण्ड एजाज अहमद पक्राउ गरेपछि अहिले सर्बसाधारण पीडितहरु उनीहरुविरुद्ध उजुरीका लागि प्रहरी कार्यालय पुग्न थालेका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *