शहरी विकासमन्त्री प्रभु साहको गाडीले ठक्कर दिँदा एक जना घाइते

१८ पुस २०७७ काठमाडौं । शहरी विकासमन्त्री प्रभु साह चढेको गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।
बाटो काट्दै गरेका तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । तामाङको कम्मर र खुट्टामा चोट लागेको छ । घइतेको सर्लाहीमा नै रहेको स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा विरोध गर्दै आए पनि मन्त्री पाउने भएपछि साह ओली गुटमा प्रवेश गर्नुभएको थियो । मन्त्री बनेलगत्तै उहाँकै अगुवाइमा तराईका जिल्लामा नेकपा ओली समूहको भेला भइरहेका छन् । तीनै भेलामा सहभागी हुन मन्त्री साह सयौँ गाडीको लस्करका साथ हिँड्ने गर्नुभएको छ ।
यसैबीच साहले फेसबुकमा स्टाटस लेख्दै आफ्नो गाडीमा झुक्किएर मान्छे लडेको बताउनुभएको छ । उहाँले झुक्किएर लड़ेको व्यक्तिलाई केही पनि नभएको तर मिडियाले मन्त्रीको गाडीले ठक्कर दिएको भन्दै अतिरञ्जित ढंगले प्रचार गरेको आरोप लगाउनुभएको छ ।
सर्लाही प्रहरीले मन्त्रीको गाडीलाई सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा अफवाह फैलाउने काम गरेको मन्त्री साहको आरोप छ ।
प्रतिक्रिया