Main News

कसले हटायो लोडसेडिङ ? कुलमान की ओली ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १७ गते २०:३४
कसले हटायो लोडसेडिङ ? कुलमान की ओली ? (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौं । अहिले दैनिक जसो बत्ती जाने क्रम बढेको छ । विद्युत प्राधिकरणले अघोषितरुपमा लोडसेडिङ गरेको भन्दै आलोचना भइरहेको छ । ४ वर्षअघि लोडसेडिङ हटाएर वाहीवाही कमाएका प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई अहिले धेरैले सम्झिन थालेका छन् ।

यही बीचमा प्रधानमन्त्रीका विश्वासपात्र एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ कुलमानले नभएर प्रधानमन्त्री ओलीले हटाएको दाबी गरेपछि सामाजिक संजाल तातिएको छ । साँच्चै कुलमानले नभइ प्रधानमन्त्री ओलीले लोडसेडिङ हटाउनुभएको हो त ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीका निकटवर्ती नेता मानिन्छन् शंकर पोखरेल । बिहीबार प्युठानमा भएको कार्यक्रममा पोखरेलले मुलुकबाट लोडसेडिङ कुलमान घिसिङले नभएर प्रधानमन्त्री ओलीले हटाएको दाबी गर्नुभयो ।

अघोषितरुपमा लोडसेडिङ हुन थालेपछि अहिले सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले लोडसेडिङ हटाएका कुलमान घिसिङलाई स्मरण गरिरहेका छन् । तर प्रधानमन्त्री ओली नजिकका नेता भने उल्टै कुलमानविरुद्ध खनिन थालेका छन् ।

ओलीले नै लोडसेडिङ हटाएको मुख्यमन्त्रीको दाबीमा भने दम देखिँदैन । बरु पोखरेलले यो दाबी गर्दा तथ्यसमेत बंग्याउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपल्ट २०७२ सालमा प्रधानमन्त्री हुँदा ऊर्जा मन्त्रीका रुपमा टोपबहादुर रायमाझी हुनुहुन्थ्या‍े । उहाँहरुको त्यस कार्यकालमा प्राधिकरणको कार्यकारी निर्देशक मुकेश काफ्ले हुनुहुन्थ्यो ।

त्यतिबेला मुलुकमा १२ घण्टासम्मको लोडसेडिङ थियो । २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो । र जनार्दन शर्मा ऊर्जा मन्त्री नियुक्त हुनुभयो । शर्माले नै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुभयो । त्यसअघि कुलमानलाई प्राधिकरणमा जगेडामा राखिएको थियो ।

चिलिमे जलविद्युत आयोजनालाई नमूना बनाइरहेका कुलमानलाई तत्कालिन नेकपा एमालेबाट ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले हटाएर प्राधिकरणमा जगेडामा राख्नुभएको थियो । काम नदिएर थन्काइएका कुलमानलाई जनर्दन शर्माले कार्यकारी निर्देशक बनाएको केही समयमै लगभग चमत्कार नै भयो ।

केही महिनामै क्रमश मुलुकबाट लोडसेडिङ हटाउँदै लगियो । २ वर्ष नपुग्दै देशभरबाट लोडसेडिङ अन्त्य भएको घोषणा गरियो । त्यसका लागि कुलमान घिसिङले गरेको व्यवस्थापन नै मुख्य कारण थियो । कुलमानले विद्युत चुहावट ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याउनुभयो ।

लोड व्यवस्थापनका लागि कुलमान आफै फिल्डमा खटिनुभयो । प्राधिकरणका पुराना संयन्त्र मर्मत गरियो । ३४ अर्ब ६१ करोड संचित घाटामा रहेको प्राधिकरण कुलमानकै नेतृत्वमा ५ अर्ब नाफामा पुग्यो । यो काममा तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरतरहले सहयोग गर्नुभयो ।

यसरी हेर्दा मुलुकबाट लोडसेडिङ हटाउने काममा तत्कालिन नेकपा एमालेको नेतृत्व र केपी शर्मा ओली कँही कतै हुनुहुन्न । बरु एमाले नेतृ राधा ज्ञवालीले कुलमानलाई अपमानजनक रुपमा हटाएर लामो समयसम्म जगेडामा राख्नुभयो ।

केही महिनाअघि प्राधिकरणमा घिसिङको चार वर्षे कार्यकाल सकियो । तर व्यापक जनदबाब भए पनि प्रधानमन्त्री ओलीले नै कुलमानलाई निरन्तरता दिन चाहनु भएन ।

अहिले फेरि ऊर्जामन्त्रीका रुपमा टोपबहादुर रायमाझीको पुनरागमन भएको छ । प्राधिकरणमा कुलमानले बनाएको टिममा पनि व्यापक हेरफेर गरिएको छ । मुलुकमा अहिले विद्युतको माग धेरै बढेको छैन । तर भारतबाट आपुर्ती भने बढेको छ ।

यस्तो अवस्थामा पनि नागरिकले नियमित बिजुली पाएका छैनन् । तर प्रधानमन्त्री निकटका नेता भने अहिले पनि कुलमानको विरोध गर्ने र ओलीलाई हुँदै नभएको जस दिन कम्मर कसेर लागेका छन् । यसबाट काम गर्ने ‘कालु मकै खाने भालु’ भन्ने उखान चरितार्थ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *