Political Hightlights

ओली सरकार जनताको शक्तिसामू धेरै टिक्दैन्, प्रचण्ड पक्षको आन्दोलनमा समर्थन छ : मोहनविक्रम सिंह (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १७ गते १६:३३
ओली सरकार जनताको शक्तिसामू धेरै टिक्दैन्, प्रचण्ड पक्षको आन्दोलनमा समर्थन छ : मोहनविक्रम सिंह (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी गर्नु भएको छ ।

नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भए पनि उक्त प्रयास सफल हुन नसकेको उहाँले बताउनुभयो ।

काठमाडौंमा भएको एक कार्यक्रममा महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘नेकपाको यो फूट अराजनीतिक प्रकारको छ, यसले देशलाई दीर्घकालिन असर पारेको छ, यसको पहिलो परिणाम संसद विघटन भयो । कोरोनाले मुलुकलाई दीर्घकालिन असर पारेको बेला र राष्ट्रियतामाथि गम्भीर संकट आएको बेला, नेकपा फुट्नु दुःखद् छ ।’

उहाँले पछिल्लो समय राजावादीहरु पनि सलबलाएको र उनीहरुको चलखेल शुरु भएकाले गणतन्त्र÷धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गर्नुभयो । उहाँले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोख्नुभयो । उहाँले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमत पनि ओलीले नअपनाएको आरोप लगाउनुभयो ।

नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको महासचिव सिंहको दाबी छ । उहाँले भन्नुभयो,‘जसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेपालमा रहस्यमयी भ्रमण गरे, यो आपत्तिजनक छ । भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ । राजसंस्था ल्याउच चाहन्छ् । अमेरिकाको पनि आफ्नै स्वार्थ छ । अमेरिकी सहयोग सम्झौता एमसीसी ईण्डो–प्यासिफिक स्ट्राटेजीअन्तर्गत नै हो । ओली सरकारले एमसीसी पारित गर्न पूरा प्रयत्न गरेको थियो । नेकपा फुटपछि चीनको पनि भूमिका बढेको छ । चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेर फर्किएको छ ।’

उहाँले नेपालमा अहिले भैरहेको राजावादीहरुको आन्दोलनमा बाहृय शक्तिको हात रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘राजावादीहरु आफ्नो शक्तिमा सडकमा आएका होइनन् । यसमा भारतको हात छ । भारतीय सत्तारूढ शक्ति नेपाललाई हिन्दूराष्ट्र बनाएर आफ्नो देशमा पनि प्रभाव पार्न चाहन्छ ।’

उहाँले नेपालमा जतिपनि संकट आएका छन्, ती सबै संकटलाई आफूहरुले पार लगाएको पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो ,‘अहिलेको स्थितिलाई पनि हामीले सामना गरेर यो स्थितिबाट मुलुकलाई पार लगाउँछौं ।’

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेका कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उहाँले स्पष्ट पार्नुभयो । र, सरकारविरुद्ध आन्दोलनसमेत शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो शक्ति सानो छ, तर विचार र नीति भने स्पष्ट छ । सरकारविरुद्ध शुरु गरिएका आन्दोलनमा हाम्रो साथ र समर्थन छ । प्रचण्ड पक्ष, नागरिक समाजले शुरु गरेका आन्दोलनमा हाम्रो समर्थन हुन्छ ।’ उहाँले ओली सरकार जनताको शक्तिको अघि धेरै दिन नटिक्ने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो,‘ओली सरकार जनताको शक्तिसामू पराजित हुनेछ । प्रतिगमनकारी शक्ति अवश्य पराजित हुन्छन् ।’ उहाँले नेकपालाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले आफूलाई काम गर्न दिइएन भन्ने प्रधानमन्त्री ओलीको दाबीमा कुनै सत्यता नभएको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो,‘ओलीको कदम असंवैधानिक छ । ओली सरकारले काम गर्न नसक्नुको कारण उसको नीति नै गलत छ । उसको कार्यनीति नै प्रष्ट छैन् ।’ मुलुकमा चलेको अहिलेको प्रतिगमनको हावाको पछाडि ओली नै मुख्य दोषी रहेको पनि उहाँको गम्भीर आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्