राजनीति

आन्दोलनको सामना गर्न तयार रहन प्रधानमन्त्री ओलीलाई प्रचण्डको चेतावनी

हिमालय टिभी
२०७७ पुष १४ गते १६:५६
आन्दोलनको सामना गर्न तयार रहन प्रधानमन्त्री ओलीलाई प्रचण्डको चेतावनी

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधी भन्दै आन्दोलनको सामनाका लागि तयार रहन चुनौती दिएको छ ।

संसद विघटनको विरुद्ध देशभर प्रदर्शन गर्दै प्रचण्ड नेपाल समूहले अब आन्दोलनबाटै छिनोफानो गर्ने चेतावनी दिएको हो । प्रचण्ड नेपाल समूहले ओली सरकारलाई परास्त गरेरै छोड्ने उदघोष पनि गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेको गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभयो । केही महिनामै ओली सरकारलाई परास्त गर्ने उहाँको दाबी छ । अध्यक्ष प्रचण्डले सरकारले विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापना गरेरै छाड्ने बताउनुभयो । उहाँले सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश कदम चालेको भन्दै पुनर्स्थापना गरेरै छाड्ने बताउनुभयो । प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विशेष अधिकार अघिल्ला संविधानमा भए पनि राजनीतिक स्थिरताको निम्ति नयाँ संविधानमा हटाएको उल्लेख गर्दै अध्यक्ष प्रच्ण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको मर्म, भावना र अक्षरको विरुद्धमा रहेको भन्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा भंग नभई केपी ओली नेतृत्वको सरकार भंग भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता तथा समानुपातिक समावेशी प्रतिनिधित्वको विरोधी रहेको र कम्युनिष्ट आदर्श, मूल्य मान्यता र विचारमा स्खलित भइसकेको आरोप लगाउनुभयो । संविधानमाथि यति निर्मम प्रहार आजसम्म कसैले नगरेको भन्दै अध्यक्ष प्रचण्डले आफैले बनाएको प्रधानमन्त्रीले यसो गर्नुहोला भन्ने कहिल्यै नसोचेको बताउनुभयो ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा सबै राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज सबै आन्दोलनमा उत्रिएको र सर्वोच्च अदालतका पूर्व न्यायाधिसदेखि हरेक क्षेत्रका मानिसहरुले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेको परिवेशमा सिंगो देशको आवाजलाई सर्वोच्च अदालतले सम्मान गर्दै प्रतिनिधि सभा विघटनको विरुद्धमा फैसला आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अदालतको फैसलालाई प्रभावित पार्न सडकमा आएको नभई फैसला निम्ति जनताले गरेको सहजीकरणको रुपमा सडकमा आएको रुपमा बुझिदिन आग्रह गर्नुभयो ।

लोकतन्त्रमाथिको प्रहारलाई सच्याएर प्रतिगमन फिर्ता नगरे आन्दोलनको आँधि ल्याउने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिनिधि सभा विघटन तथा राजनीतिक दल विभाजन हठात निर्णय नभई प्रधानमन्त्री ओलीको वर्ष दिनदेखिको योजना रहेको बताउनुभयो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु, स्थायी कमिटी बैठक चलिरहेका बेला निर्वाचन आयोगमा प्रधानमन्त्रीकै निर्देशनमा नेकपा(एमाले) दर्ता गर्नु र पार्टीको नीति, सिद्धान्त र निर्णय नमान्नुजस्ता कुराले उहाँ योजनाबद्ध रहेको प्रमाणित हुने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिगमन रोक्ने तागत जनतासँग भएको भन्दै अध्यक्ष प्रचण्डले जनताले दिएको सार्वभौम अधिकारलाई दुई जना व्यक्तिले हत्या गर्न नमिल्ने बताउनुभयो ।

नेकपा पार्टीको आधिकारिकता दाबी गर्दै अध्यक्ष प्रचण्डले ७० प्रतिशत बढी केन्द्रीय कमिटी सदस्य आफुसँग भएको र निर्वाचन आयोगमा सशरीर उपस्थित हुन सक्ने पनि निर्वाचन आयोगलाई जानकारी दिइसकेको उल्लेख गर्दै पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफूहरुले पाउनेमा दिनको घामजस्तै छर्लङ्ग रहेको बताउनुभयो ।

बैशाखमा चुनाव गर्नको निम्ति चुनावी मिति घोषणा नभएको भन्दै प्रचण्डले निर्वाचनको भर नपर्न अन्य राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सरकारले चुनाव नगराई गणतन्त्र, संविधान तथा शान्तिलाई धरापमा पार्ने भएकाले संविधानको रक्षाको निम्ति सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

एकताबद्ध भई आन्दोलित भए प्रतिक्रान्ति सच्चिने उहाँको भनाइ छ । सरकारको असंवैधानिक कदम फिर्ता नभएसम्म आन्दोलनका अन्य कडा कार्यक्रम जारी रहने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

प्रचण्ड नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले ओली निरंकुश बनेको भन्दै अब ओली प्रवृत्तिको अन्त्य गरेर छाड्ने बताउनुभयो । नेपालले ओलीलाई गणतन्त्र र संघीयताको माया नभएको पनि आरोप लगाउनुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले अहिले सबै लोकतन्त्रवादी शक्ति ओली सरकारको तानाशाही विरुद्ध केन्द्रीत हुनुपर्ने भन्दै कांग्रेस र जनता समाजवादी पार्टीले गरिरहेको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्