विदेश

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख ७ हजारभन्दा बढी

हिमालय टिभी
२०७७ पुष १३ गते १४:०३
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख ७ हजारभन्दा बढी

१३ पुस २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक आइतबार कोभिड १९ को सङ्क्रमित २० हजार भन्दा कम देखिएको थियो ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ८२ हजार ६६९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ७७ हजार ३०१ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ७५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४५३ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १६ करोड ८८ लाख १८ हजार ५४ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतमा आइतबार एक दिनमा सात लाख १५ हजार ३९७ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *