Main News

राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

हिमालय टिभी
२०७७ पुष १३ गते ६:१७
राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

१३ पुस २०७७ काठमाडौं । नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगीता गर्ने भएको छ । सो दिवसका अवसरमा सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवद्र्धन र पृथ्वीनारायण शाह’सम्बन्धी भावमा कविता लेख्न सक्नुहुनेछ । त्यस्ता कविता यही पुस २० गतेभित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा [email protected] इमेलमा पठाउन सकिनेछ ।

प्रतियोगितामा छानिएका २५ वटा कविता पुस्तकका रुपमा प्रकाशित गरी जङ्गीअड्डा परिसरमा स्थापना हुने ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ मा राखिनेछ । प्रतियोगिताका उत्कृष्ट १० कविलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जानकारी दिइएको छ ।

नेपालको संविधानबमोजित राष्ट्रिय एकताको रक्षा गर्न तथा सरकारको वार्षिक नीति तथा कार्यक्रममा समाविष्ट ‘एकीकरण मार्ग कार्यक्रम’ कार्यान्वयन गर्ने क्रममा सेनाले विगत वर्षमा पनि एकता दिवसका विविध गर्दै आएको थियो ।

एकीकरण पदयात्रा गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २६ गते हनुमानढोका आइपुग्नेछ । पृथ्वी जयन्तीका दिन सैनिक मुख्यालय जङ्गीअड्डामा हुने कार्यक्रममा उक्त पदयात्रा टोलीले भाग लिनेछ । यस पदयात्रामा नेपाली सेना, स्थानीय जनता र विद्यार्थी सहभागी हुनेछन् ।

पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले खडा गरेका नेपाली सेनाका पाँचवटा कम्पनीको निशान, नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति समेटिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *