Main News

सैनामैनामा फाेहाेरबाट माेहाेर निकाल्ने तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १२ गते ६:१२
सैनामैनामा फाेहाेरबाट माेहाेर निकाल्ने तयारी (भिडियोसहित)

१२ पुस २०७७ बुटवल । लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनमा देखिएको चुनौती समाधान गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा फोहर प्रशोधन केन्द्र स्थापना गर्न थालिएको छ । केन्द्रमा रुपन्देही र कपिलवस्तुका स्थानीय तहबाट निस्किएका फोहर व्यवस्थापन एवं प्रशोधन गरी आम्दानीसमेत गर्ने लक्ष्य राखिएको छ ।

फोहरको उचित व्यवस्थापन हुन नसकेको भन्दै आलोचना खेप्दै आएका बुटवल, सैनामैना र सिद्धार्थ नगरपालिकाको फोहर व्यवस्थापन गर्नेगरी सैनामैना नगरपालिका–१०, खोरमोरमा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया शुरु भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका १० मा जंगलको बिच भागमा फोहर मैला प्रशोधन केन्द्र निर्माण गरिनेछ । पूर्वपश्चिम राजमार्गबाट करिब ५ किलोमिटरभित्र बस्तीबाट टाढा जंगलको एकान्त र नदी उकास जग्गामा प्रशोधन निर्माण गरिनेछ । संघीय सरकारको १० करोड रुपैयाँ लागतमा बन्ने प्रशोधन केन्द्रमा दीर्घकालीन रुपमा रुपन्देहीका सबै स्थानीय तहसँगै कपिलवस्तुको बाणगंगा नगरपालिकाको समेत फोहर ल्याएर प्रशोधन गरी फोहरलाई मोहर बनाउने लक्ष्य छ ।

लुम्बिनी प्रदेशका धेरै जिल्लामा फोहर व्यवस्थापन लथालिङ्गजस्तै छ । बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रुपमा व्यवस्थापन गर्न थालेको करिब दुई दशक भयो । तर अहिलेसम्म दिगो व्यवस्थापन हुन सकेको छैन । बुटवल, सिद्धार्थ नगरपालिकामा फोहर व्यवस्थापनमा ध्यान नदिएको भन्दै बेलाबेला विरोध पनि हुने गरेको छ । तर सैनामैना नगरपालिकाले भने जम्मा भएका फोहोरलाई प्रशोधन गरेर मोहरमा परिणत गर्ने लक्ष्य राखेको छ ।

फोहोर मैला प्रशोधन केन्द्रको निर्माणको लागि अहिले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ । यो प्रतिवेदन आएपछि संघीय सरकारको सहयोगमा काम शुरु हुनेछ । अहिले खोला रोक्नका लागि तारजाली लगाइसकिएको छ ।

यहाँ बन्न लागेको फोहर मैला प्रशोधन केन्द्रमा प्राङ्गारिक मल कारखाना बनाउने उद्देश्य पनि छ । फोहर व्यवस्थापन तथा प्रशोधन केन्द्र २ वर्षभित्र तयार भइसक्ने सैनामैना नगरपालिकाको दाबी छ । हाल सैनामैनामा प्रतिदिन १० टन, बुटवलमा ५० टन फोहर उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *