प्रधानमन्त्री ओलीले नागरिकमाथि विश्वासघात गरेको राप्रपा नेताहरुको आरोप
११ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा आज मोटरसाइकल र्याली निकालेको छ ।
राप्रपा युवा संगठन काठमाडौंले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो । राप्रपाको यो र्याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्गसम्म पुगेको थियो ।
र्यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागी हुनुहुन्थ्यो ।
दरबारमार्गमा भएको कोणसभामा अध्यक्ष थापाले नेकपाको आपसी भागबन्डा नमिल्दा संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकमाथि विश्वासघात गरेको आरोप लगाउनुभयो ।
उहाँले नागरिकले सिटामोल किन्न नसकेको तर सीमित दलका नेताहरूले भने राज्यको ढुकुटी कब्जा गरेर रातारात अर्बपति बनेको आरोप पनि लगाउनुभयो ।
राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।
प्रतिक्रिया