Main News

संसद विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने, इजलास शुक्रबार बस्ने

हिमालय टिभी
२०७७ पुष ८ गते १३:५४
संसद विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने, इजलास शुक्रबार बस्ने

८ पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै १२ रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाएको हो ।

यी रिटमा प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेशको माग गरिएको थियो । तर प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद गम्भीर संवैधानिक व्याख्याको विषय भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाउनुभएको हो ।

अब यी १२ सहित १३ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाई हुनेछ । संवैधानिक इजलास शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन्। यसका लागि सर्वोच्चले बनाएको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश राणाले छान्नुहुनेछ ।

विघटनविरुद्ध सर्वोच्चमा परेका सबै रिटमा प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै खारेजीको माग गरिएको छ।

रिटमा प्रधानमन्त्री र राष्ट्रपतिले मनोगत लहडका आधारमा प्रतिनिधिसभा विघटन गरेको, राष्ट्रपति र प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरेको तथा मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिबाट जारी हुने दुवै कार्य असंवैधानिक रहेको जिकिर गरिएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि अब सबैको नजर न्यायालयमा केन्द्रित छ । तर यो मुद्दा केही लम्बिने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *