राजनीति

माधवकुमार नेपाल फेरि कम्युनिष्ट पार्टीको नेतृत्वमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ७ गते २०:१९
माधवकुमार नेपाल फेरि कम्युनिष्ट पार्टीको नेतृत्वमा (भिडियोसहित)

७ पुस, २०७७ काठमाडौं । भनिन्छ १२ वर्षपछि खोलो पनि फर्किन्छ, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका हकमा राजनीतिक नेतृत्वको खोलो त्यसैगरी फर्किएको छ । नेपाल १२ वर्षपछि पार्टीको नेतृत्वमा फर्किनुभएको छ । नेकपाले उहाँलाई पार्टी अध्यक्ष बनाएको छ ।

पार्टीको लामो समय नेतृत्व गर्ने थोरै नेतामध्ये एकमा पर्नुहुन्छ, माधवकुमार नेपाल । २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि, पहिलोपटक माधवकुमार नेपाल नेतृत्वदायी भूमिकामा आउनुभयो ।

नेपालले मदन भण्डारीको निधनपछि ०५० साल जेठ नौ गते पार्टीको नेतृत्व सम्हाल्नुभयो । र, लगातार १५ वर्ष अर्थात ०५० साल जेठ ९ देखि ०६५ साल वैशाख १ गतेसम्म तत्कालीन एमालेको महासचिव बन्नुभयो ।

यो बीचमा उहाँलाई कसैले नेतृत्वका लागि चुनौती दिन सकेन । तर ०६४ को संविधानसभा चुनाव उहाँका लागि ब्रेक बनेर आयो । ०६४ सालको चुनावमा आफू दुई ठाउँबाट मात्रै पराजित हुनुभएन नेपाल नेतृत्वको एमाले तेस्रो शक्तिमा झर्‍यो । त्यसपछि चुनावी हारको जिम्मा लिँदै नेपालले राजीनामा दिनुभयो ।

पार्टी नेतृत्व छोडेको ६ वर्षपछि नेपालले फेरि नेतृत्वमा फर्किने प्रयास गर्नुभयो । तर त्यो प्रयास सफल भएन । पार्टीको नवौं महाधिवेशनमा उहाँ केपी शर्मा ओलीसँग पराजित हुनुभयो । तर १२ वर्ष पछि फेरि नेपाल नेतृत्वमा आउनुभएको छ, त्यो पनि फेरि केपी शर्मा ओलीलाई विस्थापन गरेर ।

ओलीसँग चुनावमा हारेर नेतृत्व गुमाएका नेपालले पार्टीभित्रको विवादमा प्रचण्डको साथमा ओलीलाई हटाएर त्यो ठाउँ लिनुभएको छ । अर्थात नेपालका लागि १२ वर्ष पछि खोलो फर्केको छ । र, व्यक्तिगत लाभ भएको छ ।

तर पार्टीलाई विधि पद्धति अनुसार नचलाएको भनेर ओलीको आलोचना गर्ने नेपालले त्यसलाई कति व्यवहारमा लागु गर्नुहुन्छ । र, अर्का अध्यक्ष प्रचण्डसँग सन्तुलन मिलाउन सक्नुहुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्