Main News

प्रतिनिधिसभा पुनःस्थापना गर्न नेकपा मसालको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ७ गते १६:०३
प्रतिनिधिसभा पुनःस्थापना गर्न नेकपा मसालको माग (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संसद पुनःस्थापनाको माग गर्नु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको विषय अवैधानिक भएको भन्दै तत्काल पुनःस्थापना गर्न माग गर्नुभएको हो । उहाँले भन्नुभयो ‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसदको पुनःस्थापना गर्नुपर्छ ।’

महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन ग¥यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भने पनि हाम्रो संघर्ष रोकिन्न । हामीले फेरि देशमा बहुदलीय व्यवस्था कायम गर्नका लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नका लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’

महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृषिकोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको बताउनुभयो ।

पार्टीभित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भिर स्थिति सिर्जना भएको टिप्पणी समेत गर्नुभयो । नेकपाको अन्तरकलहका कारण राजावादीहरुको सक्रियता बढेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘देशमा राजावादीहरु सडकमा आइराखेका छन् राजतन्त्रको पुनःस्थापना, हिन्दू राष्ट्र बनाउनका लागि त्यसले गणतन्त्रलाई कमजोर पार्नुपर्छ भनेर राजावादीहरु सक्रियता बढाइरखेका छन् । गणतन्त्रका पक्षधर शक्तिहरु आपसमा लडिरहेका छन् । यसले गर्दा गणतन्त्रको पक्ष निकम्मा हुन्छ । यिनको बिचको एकता खाली पार्टीको एकता मात्रै होइन, उनीहरुको बिचको झगडा मात्रै होइन । यो सम्पूर्ण देशको राजनीतिमा नराम्रो असर पार्छ भनेर हामीले भनेका थियौं । अहिले त्यो प्रष्ट भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *