राजनीति

अध्यक्ष, महासचिव र माइन्युटबिनाको बैठकको निर्णय अवैधानिकः ओली पक्षका प्रवक्ता ज्ञवाली (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ७ गते १५:०९
अध्यक्ष, महासचिव र माइन्युटबिनाको बैठकको निर्णय अवैधानिकः ओली पक्षका प्रवक्ता ज्ञवाली (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टीको प्रवक्ताको जिम्मेवारी पाउनुभएका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविनाको बैठकले गर्ने कुनै पनि निर्णयले बैधानिकता नपाउने बताउनुभएको छ ।

बालुवाटारमा सम्पन्न भएको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युटविनाको बैठकले वैधानिकता नपाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? बैठक बस्दैन त्यो बैठक हुँदैन । उहाँहरु आफ्नो नजिकको साथीहरु बस्नुहोला त्यो बैठक हुँदैन । त्यो बैठकको निर्णयको कुनै वैधानिकता पनि हुने भएन किनभने बैठक बस्न अध्यक्ष चाहियो, महासचिव चाहियो र माइन्युट चाहियो । सूचना जारी गर्नुप¥यो महासचिवले । हाम्रो पार्टीको मौजुदा विधानले त्यही भन्छ । पार्टीको मौजुदा विधानले महासचिवले बैठकको सूचना र एजेण्डा तय गर्ने भन्छ । पहिलो कुरा यो हो । दोस्रो कुरा पार्टी विभाजित भएको छैन । कमसेकम हाम्रो तर्फबाट, प्रधानमन्त्रीको तर्फबाट पार्टी विभाजित भएको छैन पार्टी एकतावद्ध छ । कमिटीमा साथीहरु थपिनुभएको छ । निर्वाचनमा एकताबद्ध भएर जानुपर्छ भनेर उहाँले अपिल गर्नुभएको छ । त्यसकारण अहिले विभाजन नै नभएको हुनाले यसमा कसैको हात देखिरहनु परेन । आफ्नो थैलीको मुख बलियो गरी बाधौं अरु कसैलाई दोष दिनुपर्ने आवश्यकता छैन् । ’

प्रवक्ता ज्ञवालीले बैठकले पार्टीको एकता महाधिवेशन २०७८ मंसिर २ गतेबाट काठमाडौंमा शुरु गर्ने निर्णय गरेको पनि बताउनुभयो । त्यसबाहेक विधानमा केही संशोधनहरु पनि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ नेपाल कम्युनिष्ट पार्टीको एकता महाधिवेशन २०७८ साल मंसिर २ गते बाट काठमाडौंमा शुरु गर्नेगरी महाधिवेशनको मिति निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठकले विधानमा केही संशोधनहरु गरेको छ । जसको बारेमा विस्तृतमा जानकारी गराउने छौं । त्यो संशोधनको प्रयोजन पार्टीलाई अहिलेका आवश्यकताहरु पुरा गर्न सक्ने सक्षम र गतिशील पार्टी बनाउने प्रयोजनको लागि हो ।’

एकता महाधिवेशनका लागि ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन भएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो । यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेसन सम्पन्न गर्नुपर्ने अभिभारा पाए पनि काम गर्न नसकेकाले सदस्यको संख्या विस्तार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बैठकले २०७५ जेठ ३ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को त्यतिबेलाको अवस्थामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी जसको मुख्य अभिभारा २ वर्ष भित्र महाधिवेसन सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा महाधिवेसन सम्पन्न गर्न नसकेको र देश र जनताका सामु उपस्थित महत्वपूर्ण कार्यभारहरुमा ध्यान केन्द्रीत गरेर राज्यको नेतृत्वगर्ने जुन ऐतिहासिक अवसर नेपाल कम्युनिष्ट पार्टीलाई प्राप्त छ त्यसलाई ड्राइभ गर्नेगरी अगाडि बढाउने सन्दर्भमा कमिटी आफ्नै केही समस्याहरुमा अल्झिएको स्थितिलाई ध्यानमा राखेर परिवर्तित सन्दर्भमा नयाँ दायित्व पुरा गर्ने हिसाबले केन्द्रीय कमिटीलाई विस्तार गर्नुभएको छ, पार्टीको पहिलो अध्यक्षको हैसियतले केपी शर्मा ओलीले । अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति ११ सय ९९ सय भएको छ र हाल यसमा १ हजार ३ जना रहने गरी केन्द्रीय कमिटीको विस्तार गर्नेगरी जानकारी गराउन चाहन्छु ।’

बैठकले प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको घोषणाको औचित्यलाई समेत समर्थन गरेको बताउनुभयो । यस्तै बैठकमा के कारणले प्रतिनिधि सभा विघटन गर्नुप¥यो भन्ने सम्बन्धमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रष्ट पार्नुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘चौथो केन्द्रीय कमिटीले सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको घोषणाका औचित्यलाई समर्थन गर्दै एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्ने संकल्प गरेको छ । बैठकमा प्रधानमन्त्रीले के कारणले प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था सिर्जना भयो भन्ने बारेमा कमिटी सदस्यहरुलाई प्रस्ट पार्नुभएको छ ।’

ओली पक्षका प्रवक्ता ज्ञवालीले भन्नुभयो– पार्टी र संसदलाई देश र जनताका एजेण्डाहरुमा होइन, कोभिड १९ मा होइन, बाढी र अरु प्राकृतिक विपत्तिबाट आक्रान्त जनताको पीडामा होइन, मुलुकले लिएको राष्ट्रिय स्वाभिमानको राष्ट्रियता सुदृढीकरणको एजेण्डामा होइन केही नेताहरुका कहिल्यै पनि सन्तुष्ट नहुने आकांक्षाहरुको एक किसिमले बन्धकजस्तो बनाएर अगाडि बढ्नै नसक्ने स्थिति सिर्जना गरिसकेपछि प्रतिनिधि सभाको ६४ प्रतिशत सदस्यहरुको समर्थन प्राप्त दलको नेता र प्रधानमन्त्रीको हैसियतले प्रतिनिधि सभा विघटन गरेको जानकारी गराउनुभयो । सरकारले गरेका राम्रा कामहरु र पार्टीका सही विचारहरुलाई लिएर जनताको विचमा जाने र लोकतन्त्र राष्ट्रियता र सामाजिक आर्थिक रुपान्तरण सहित समृद्धिको मुख्य एजेण्डालाई स्थापित गर्नेगरी सिंगो पार्टी पंतिलाई परिचालित हुन उहाँले निर्देशन दिनुभएको छ ।’

बैठकले केन्द्रीय कमिटीको अर्को बैठक आगामी बिहीबार ९ गते दिउँसो १ बजे बस्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्