Political Hightlights

सत्तारुढ नेकपा औपचरिक रुपमा विभाजनको संघारमा

हिमालय टिभी
२०७७ पुष ७ गते ७:४१
सत्तारुढ नेकपा औपचरिक रुपमा विभाजनको संघारमा

७ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ ।

असंवैधानिक रुपमा संसद विघटन रोजेपछि सर्वत्र आलोचनाको घेराबन्दीमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूह एकअर्कालाई कारवाही गर्ने अन्तिम तयारी छन्।

ओली र प्रचण्ड दुवै एकअर्कालाई अनुशासनको कारवाहीमा उत्रिनु भनेको पार्टी फुटको घोषणा हुनु भएको नेताहरुको बुझाइ छ। दुबै पक्षले आजका लागि छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् र दुबैले एकले अर्कोलाई कार्वाही गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री ओलीले बिहान ९ बजे बालुवाटारमा र प्रचण्ड पक्षले दिउँसो १ बजे बबरमहलमा केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । प्रचण्ड–नेपाल पक्ष भन्दा पहिले नै केन्द्रीय कमिटी बोलएर ओलीले आफू कारवाहीमा पर्नु भन्दा पहिले नै प्रचण्ड–नेपाल पक्षलाई कारवाही गर्ने तयारीमा रहेको बुझिएको छ ।

ओलीमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा संगठित सदस्य नरहने गरी निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी छ ।

त्यसैले ओलीले आज बिहान केन्द्रीय कमिटी बैठक बोलाउन लागेको सुइँको पाउनासाथ प्रचण्ड–नेपाल पक्षले ओलीलाई अनुशासन उल्लंघनको कारवाही गर्ने सिफारिस पत्र निर्वाचन आयोगमा बुझाइसकेको छ ।

यसरी ओली र प्रचण्ड–नेपाल पक्षले एकअर्कालाई कारवाही गर्न द्रुत गतिमा गरेको कसरतको नतिजा सम्भवत आज नै आउने देखिन्छ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूह स्पष्ट बहुमतमा छ । प्रचण्ड निकट करिब दुई सय र नेपाल निकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ । तर यो भिडन्तमा दुवै पक्षका महत्वपूर्ण मानिएका एकएक जना केन्द्रीय सचिवालय सदस्यहरु रामबहादुर थापा ‘बादल’ र वामदेव गौतम तटस्थ बसिरहेका छन् ।

त्यस्तै स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, हरिवोल गजुरेल र मणि थापा पनि अझै अनिर्णित छन् । उनीहरु हिजो दुवैतिरका भेलामा गएका छैनन् ।

आज बस्ने ओली इतरको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष र प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्