राजनीति

नेकपा विभाजनको औपचारिक तयारी : ओलीले बोलाए केन्द्रीय कमिटी बैठक (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ६ गते २०:१४
नेकपा विभाजनको औपचारिक तयारी : ओलीले बोलाए केन्द्रीय कमिटी बैठक (भिडियोसहित)

६ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ । दुवै पक्ष आ–आफ्ना तयारीमा लागेका छन् । प्रचण्ड–नेपाल जस्तै ओली पक्षले पनि समानान्तर तयारी र अभ्यास खुला रुपमा गरेको छ ।

प्रतिनिधिसभा विघटन भएसँगै नेकपाका दुवै पक्षले समानान्तर अभ्यास गरेका छन् । यो पार्टी फुट्नु पूर्वको अवस्था हो । प्रचण्ड–नेपाल समूहको सोमबार दिउँसो संसदीय दलको छुट्टै भेला गर्नुअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिहानै बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्नुभयो । जहाँ ओलीलाई समर्थन गर्नेहरु सहभागी भए । र, यो भेलाले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सही ठहर गर्‍यो ।

संसदीय दलजस्तै केन्द्रीय कमिटी बैठक पनि ओली पक्षले छुट्टै बोलाएको छ । प्रचण्ड–नेपाल पक्षले मंगलबार दिउँसो एक बजे बैठक बोलाउँदा ओली पक्षले बिहान नौ बजे केन्द्रीय कमिटी बैठक डाकेको छ । प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगमा पेश गरेको छ ।

बहुमत पक्षले गरेको कारवाही अस्वीकार गरेको ओली पक्षले प्रचण्डलाई कारवाहीको तयारी गरेको छ । ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको, आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको बुझिएको छ ।

बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने पनि तयारी छ । पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने र सके नेकपानै आप्नो बनाउने नभए एमाले ब्यूँताउने प्रयासमा ओली पक्ष लागेको छ । यी सबै घट्नाक्रमले मंगलबार नेकपा औपचारिक रुपमै विभाजन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्