Political Hightlights

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको राप्रपाको निष्कर्ष

हिमालय टिभी
२०७७ पुष ५ गते १८:५८
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको राप्रपाको निष्कर्ष

५ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘जुनसुकै लोकतान्त्रिक व्यवस्थामा पनि संविधानले कार्यकारीको अधिकारमाथि विभिन्न बारबन्देजहरु लगाएको छ । त्यो बारबन्देजभित्र रहेर कार्यकारीले काम गर्नुपर्ने हुन्छ । अहिले प्रधानमन्त्रीले ती बारबन्देज सबै तोड्नुभएको छ । संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने काम राष्ट्रपतिको सहमतिमा भएको छ त्यो असंवैधाकि हो, अलोकतान्त्रिक हो र प्रतिगामी छ ।’

राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रुपमा लिएर जाने भएको छ । उहाँले भन्नुभयो ‘हाम्रो विरोध कार्यक्रमहरु छँदैछन । त्यसमा पनि मुख्य एजेण्डाका रुपमा लिएर जान्छौं । त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरु हिंडनु भएको छ । देशलाई अराजकतातिर र अशान्तिको बाटोमा लिएर जान खोज्नु भएको छ । त्यसैले एउटा समय आएको छ अब हामी सबै दलहरु बसेर यो संविधानका कमजोरीहरु के के हुन जुन कुरा राप्रपाले विभिन्न समयमा भनिराखेको थियो त्यसको बारेमा पनि छलफल गरेर निचोडमा पुग्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्