Main News

राष्ट्रपतिको कार्यालयले संसद अधिवेशन बोलाउने समावेदन दर्ता नगरेर राम्रो भयोः राष्ट्रपतिका सल्लाहकार

हिमालय टिभी
२०७७ पुष ४ गते १८:४६
राष्ट्रपतिको कार्यालयले संसद अधिवेशन बोलाउने समावेदन दर्ता नगरेर राम्रो भयोः राष्ट्रपतिका सल्लाहकार

४ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको दाबी गर्नु भएको छ ।

आज काठमाडौंमा भएको कार्यक्रममा बोल्दै संसदको विशेष अधिवेशन बोलाउन माग गरेका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन दर्ता गरेको भए मुलुकमा राजनीतिक दुर्घटना हुने थियो भन्ने यादवको दाबी छ ।

कार्यक्रममा उहाँले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिशअनुसार काम गरिरहेको र संविधानको दायराभित्रै रहेर काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘उहाँले संविधानअनुसार काम गर्नुभएको छ । राष्ट्रपति महोदयले सरकारको सिफारिश अनुसार काम गर्ने हो । त्यो काम उहाँबाट भैरहेको छ । उहाँ संविधानको संरक्षक हुनुहुन्छ ।’

उहाँले राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आफूआफूमा झगडा गर्ने, आफै भेट्न जाने । नेपाली कांग्रेसका नेताहरु पनि जानुभाछ । रामचन्द्रजी जानुभाछ । पशुपतिजी जानुभाछ । उहाँहरु भेट्न जाँदा चाहीँ राजनीतिक नहुने !’ उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षीबाट विरोध नभई आफ्नै दलबाट विरोध भएको पनि गुनासो पोखे ।

उहाँले भन्नुभयो,‘नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेकै हो । सरकारलाई सबभन्दा बढी आफ्नै पार्टीबाट डिस्टर्ब भएको छ । अहिले जति पनि केपी ओलीको विरोध भैरहेको छ, यो सब जनताका लागि हो कि ? संविधानका लागि हो कि ? समृद्धिका लागि हो कि ? उखु किसानका लागि हो कि ? वा के को लागि हो ? हेर्नुहोस, राजनीति त नेपालमा व्यक्तिगत स्वार्थमा भयो । यसो भयो भने न मुलुकमा सुशासन हुन्छ न समृद्धि हुन्छ ।’

उहाँले अहिलेको संविधान लामो समयको संघर्ष र बलिदानीबाट आएको सुनाउँदै यसको रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकलाई सकारात्मक दिशातर्फ लैजानका लागि सकारात्मक पहल हुनुपर्नेपनि सुझाउनुभयो । र, विपी र पुष्पलालको नीति आत्मसात गर्न पनि उहाँले सुझाव दिनुभयो ।

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै ८३ जना सांसदहरुको हस्ताक्षरसहित जाँदा पनि किन समावेदन दर्ता भएन ? भनेर सोधेको प्रश्नमा उहाँले भन्नुभयो –‘उहाँहरु एकैचोटी जानुभयो । तर, उहाँहरु शीतल निवासमा हुँदा फोनमा आउन थाल्यो कि सहमति भैसकेको छ, अब विशेष अधिवेशन बोलाउन पर्दैन भनेर । आफ्नो पार्टीको सरकारलाई आफ्नै पार्टीका सांसदले संसद अधिवेशन बोलाउनुपर्ने यो अनौठो भयो । उहाँहरुको निवेदन दर्ता भएको भए मुुलुकमा राजनीतिक संकट उत्पन्न हुन्थ्यो । बरु, नेपाली कांग्रेसले धैर्यता देखाईरहेको छ ।’

उहाँले नेकपाका सांसदहरु संसद अधिवेशन बोलाउनके लागि के विधिवत रुपमा पार्टी कमिटीबाट पास गराएर जानुभएको छ ? वा मिडियालाई जानकारी दिएर जानुभएको छ र ? विशेष अधिवेशन बोलाउनुपर्नुको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो,‘जबकी पुस १८ गतेभित्रै संसदको अधिवेशन आउँछ । अहिले नै विशेष अधिवेशन बोलाउनुपर्ने किन ? यसको भित्र के छ ? पहिला त प्रधानमन्त्रीलाई कन्भिन्स गर्नुपर्ने थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *