चीनमा कोरोनाविरुद्धको खोप लगाउने तयारी

४ पुस २०७७ बेइजिङ । चीनले आफ्ना नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ।
चिनियाँ स्वास्थ्य अधिकारीले केही हप्ताभित्रै सर्वसाधारणमा खोप लगाउन शुरु गरिने जनाएका छन् । दक्षिण पश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणका लागि आगामी नयाँ वर्षको शुरुदेखि नै खोप दिन थालिने सरकारद्वारा सञ्चालित समाचार संस्थाले जनाएको छ ।
तर केन्द्र सरकारले भने अझै खोप लगाउन आधिकारिक स्वीकृति दिइसकेको भने छैन । चीनमा खोपले आपतकालिन प्रयोगका लागि अनुमति पाइसकेको छ । पहिलो चरणमा कम्तिमा १० लाख जनालाई खोप लगाइने छ।
पहिलो चरणमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई खोप लगाइने बताइएको छ । चीनले विकास गरेका कोरोनाविरुद्धका पाँच खोप परीक्षणको अन्तिम चरणमा छन् ।
कोरोना भाइरस गत वर्ष डिसेम्बर महिनाको अन्त्यतिर पहिलो पटक चीनको वुहानमा देखा परेको थियो ।
यसैबीच अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपका रुपमा मोडेर्ना खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।
अमेरिकी नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले मोडेर्नाले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेको हो ।
प्रतिक्रिया