अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग (भिडियोसहित)
![अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/12/congress-samsadiya-dal.jpg)
३ पुस २०७७ काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संविधान विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएको ठहर गर्दै त्यसलाई अस्वीकार गरेको हो । प्रधानमन्त्रीसँगै कांग्रेसले राष्टपतिको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।
आफ्नो पार्टीभित्र अध्यादेश फिर्ता लिने सहमति जनाएपनि प्रधानमन्त्री ओलीले फिर्ता लिन आनाकानी गर्नुभएको छ । र, पार्टीभित्रदेखि बाहिरबाट यसको अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदमको चर्को आलोचना भैरहेको छ । कांग्रेस संसदीय कार्यसमितिले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ। आफ्नो असफलता र निरंकुशता ढाकछोप गर्न सरकारले संविधानको मर्म विपरीत अध्यादेश ल्याएको कांग्रेसको ठहर छ । त्यसैले संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।
प्रधानमन्त्री ओलीमाथि मात्रै होइन, कांग्रेसले राष्टपति विद्यादेवी भण्डारीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । सरकारले अध्यादेश ल्याउँछ, राष्टपति भण्डारीले आँखा चिम्लेर त्यसलाई जारी गरिहाल्नुहुन्छ ।
हो राष्टपतिको यही भूमिका कांग्रेसलाई पनि मन परेको छैन, कम्तीमा सल्लाह गर्ने ठाउँ हुँदाहुँदै पनि राष्टपति भण्डारीले त्यसलाई उपेक्षा गरेको कांग्रेसको ठहर छ । कांग्रेसका अनुसार संविधानको रक्षा गर्नुपर्ने राष्टपति संविधानकै प्रतिकुलतामा उभिनुभएको छ । त्यसैले यस्ता काम नगर्न र सच्चिन कांग्रेसको सुझाव छ ।
प्रधानमन्त्री ओलीले संसद छलेर अघि बढ्ने खोजेको भन्दै दलहरुले प्रश्न उठाइरहेका छन, किनकी संसद अधिवेशन बोलाउने बेला भएपनि सरकारले त्यसमा ध्यान दिनुको साटो अध्यादेश जारी गरिरहेको छ । त्यसैले सरकारको नियतमाथि दलहरुको आशंका छ । त्यसैले तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसले माग गरेको छ ।
कांग्रेसले संसद अधिवेशन त बोलाउन माग गरेको छ, तर त्यसका लागि उसको खासै सक्रिय भूमिका भने देखिएको छैन । किनकी अधिवेशन बोलाउनका लागि दबाब दिने काम गरेको छैन ।
प्रतिक्रिया